चार वर्षपछि दिदीसँगै भाइटीका सपिङका लागि निस्किएका रविन अब कहिल्यै…

सैनिक जवान रविनको दुर्घटनामा मृत्यु, दिदी रानी गम्भीर घाइते


काठमाडौं – सुर्खेतमा दिदीभाई सवार स्कुटर दुर्घटना हुँदा भाईको मृत्यु भएको छ भने दिदी गम्भीर घाइते भएकी छन्। बिहीबार नेपालगञ्ज–सुर्खेत सडकखण्डअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर–११ मा ठूलोब्यूरेनीमा मालबाहक ट्रकले उनीहरु सवार स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा स्कुटर चालक भेरीगंगा नगरपालिका–१२ छिन्चुका २६ वर्षीय रविन राना मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ। त्यस्तै रविनकी दिदी रानी राना मगर गम्भीर घाइते भएकी छन्। उनको कर्णाली प्रदेश अस्पतालको आइसियूमा उपचार भइरहेको छ।

भेरीगंगा नगरपालिका–१२ छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२०० प ७६६९ स्कुटरलाई जुम्लाबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ प ०१२४ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको हो। दुर्घटना गराउने मालवाहक ट्रक चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

०००

उनीहरु नजिकिएको भाइटिकाको किनमेल गर्न निस्किएको पाइएको छ।

रविन नेपाली सेनामा कार्यरत थिए। चार वर्षअघि नेपाली सेनामा भर्ती भएका रविनको दरबन्दी रूकुम पश्चिमको सैनिक गणमा थियो। बिहीबार (हिजो) अर्थात १८ गते लक्ष्मीपूजाको दिन मात्र रविन अफिसबाट तिहारको विदा लिएर आफ्नो घर सुर्खेतको भेरीगंगा नगरपालिका–१२, छिन्चु पुगेका थिए।

रविन घर पुगेपछि दिदी रानीलाई भाइटिकाको किनमेल गर्न जाने योजना बनाएको सुनाए। त्यसपछि दिउँसो पौने १ बजेतिर भाइटिकाको किनमेल गर्न वीरेन्द्रनगर, सुर्खेत निस्किए। सेनामा जागिर खाएयता उनी दिदीलाई लिएर पहिलोपटक भाइटिकाको किनमेलमा जाँदै थिए।

दिदीभाइ स्कुटरमा छिन्चुबाट सुर्खेततिर लागे। स्कुटर रविनले चलाएका थिए भने दिदी रानी पछाडि बसेकी थिइन्। तर, उनीहरुको भाइटिकाको किनमेल गर्ने योजनाबीच बाटोमै असफल भयो। वीरेन्द्रनगर–११ मा पर्ने ठूलो व्युरेनीमा उनीहरु सवार स्कुटरलाई ट्रकले ठक्कर दियो।

जुम्लाबाट नेपालगन्ज जाँदै गरेको मालवाहक ट्रकले ठक्कर दिएपछि दिदीसँग भाइटिकाको किनमेलमा हिँडेका रविनको घटनास्थलमै मृत्यु भयो। दिदी रानी घाइते भइन्। तिहारमा दिदीको हातबाट टीका लगाउन घर गएका रविनको अन्ततः दुर्घटनामा मृत्यु भएपछि घरमा रुवाबासी चलेको छ।

‘दिदीलाई सपिङ पनि गराइदिन्छु भनेर वीरेन्द्रनगर लिएर गएका रविनको परिवारमा तिहारको समयमा यस्तो दुःख आइपर्यो,’ रविनको घर नजिकैका एक स्थानीय भन्छन्, ‘यस्तो घटना त कसैको परिवारमा नपरोस्। रविनको मृत्युले गाउँ नै स्तब्ध भएको छ।’

२६ वर्षीय रविनले दसैंमा मात्र भागी विवाह गरेका थिए। फुपाजु बितेको एक वर्ष पनि नपुगेपछि रविनले आफ्नी  श्रीमतीलाई समेत घर भित्र्याउन पाएका थिएनन्। भगाएर ल्याएको श्रीमतीलाई छिन्चुमै कोठा लिएर राखेका थिए। रविनका बुबासमेत छैनन्।

यता, घाइते रानी छिन्चुमै रहेको छिन्चु बोर्डिङ स्कुलमा माध्यमिक तहलाई पढाउँछिन् । २९ वर्षीया रानीले अंग्रेजी विषयमा स्नातकोत्तर गरेकी छन्। उनी अविवाहित हुन्।

प्रतिक्रिया