


मेलम्ची पुनर्निर्माण हुन नदिन खत्रीको चलखेल, मन्त्री किन मौन ?

काठमाडौं – राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको क्षतिग्रस्त संरचना पुननिर्माण गर्न सरकारले फास्टट्रयाकबाट चिनियाँ ठेकेदार कम्पनीलाई जिम्मेवारी दिएको छ । आगामी चैत महिनाभित्र मेलम्चीको पानी काठमाडौंमा वितरण गर्ने गरी सरकारले काम गर्न चिनियाँ ठेकेदार कम्पनी सीएमसीलाई पुननिर्माणको जिम्मेवारी दिएको हाे ।
काम शुरु गरेको ९० दिन भित्र पुननिर्माणको कार्य सम्पन्न गर्ने गरी हाल मेलम्चीको क्षतिग्रस्त बाँधस्थलमा थुप्रिएको माटो, ढुंगा र गेग्रान पन्छाउने कार्य धमाधम भइरहेको छ ।
नेपाल सरकार मन्त्री परिषद्को गत पुस अन्तिम साता बसेको बैठकले पुननिर्माणको जिम्मेवारी सिनो हाइड्रोलाई दिने निर्णय गरेको थियो । तर, सिनो हाईड्रोको नेपाल प्रतिनिधिले आफ्नो पुरानो रकम भुक्तानी नभएको भन्दै काम गर्न आनाकानी गर्यो । पछि खानेपानी मन्त्री उमाकान्त चौधरीको आग्रहमा सिनो हाइड्रोले काम शुरु गरेको थियो ।
आखिर सिनो हाईड्रोले मेलम्ची खानेपानी विकास समितिसँग आफ्नो पुरानो बक्यौता रकम किन माग्यो र विकास समितिले भुक्तानि दिन किन आनाकानी गरेको भन्ने रहस्य फेला परेको छ ।
मेलम्चीसँग सिनो हाईड्रोले अहिले जिम्मेवारी पाएको पुननिर्माणको काम बापतको रकम भने माग गरेको होइन रहेछ । यसअघि नै मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग र हेडवक्र्स निर्माणको जिम्मेवारी पाएको सिनो हाईड्रोलाई क्षतिपूर्ती बापत राज्यले दिएको रकममध्ये एक करोड ५० लाख रुपैयाँ कटौति गरेपछि उसले यस्तो माग गर्दै आएको हो ।
ठेकेदार कम्पनीसँग अनुमति नलिई मेलम्ची खानेपानी विकास समितिका कार्यकारी दिर्नेशक तिरेश खत्रीले सुरुङमा उल्टो ढोका हालेर पानी पथान्तरण गर्दा सुरुङमा गम्भिर क्षति भएको थियो । ढोका हाल्न ठेक्का पाएको कम्पनीलाई ओभरटेक गरी उल्टो ढोका हाल्दा ढोका ढल्दा २ जना ड्राईभर र एक इन्जिनियरको मृत्यु भएको थियो ।
२०७७ साल साउनमा नेपालमा कोरोनाको जगजगी थियो । सिनो हाईड्रोले सुरुङको फिनिसिङ गर्दै थियो । उता राजनीतिक सरगर्मी बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले यही दशैंमा काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउँछु भन्दै भाषण गर्दै थिए । तर, कोरानाका कारण चिनियाँ कम्पनीले श्रमिक कामदारको संख्या घटाउँदै थियो ।
हेडवर्क्सदेखि भित्र सुरुङमा विभिन्न गेट (ढोका) बनाउनको लागि भारतीय कम्पनी ‘प्रिसिजन इन्डिक्स’ले डिजाइन बनाएर दिएको थियो । सो कम्पनीले दिएको डिजाईन अनुमति विपरित मेलम्ची खानेपानी विकास समितिका तत्कालिन कार्यकारी दिर्नेशक तिरेश खत्रीले हतार हतार सुरुङ भित्र एउटा उल्टो ढोका राख्न लगाए ।
ढोका उल्टो राखेका कारण सुरुङमा पानी पठाउँदा ढोका ढल्यो, सुरुङमा भौतिक क्षति भयो, अडिट सुरुङबाट पानी मेलम्चीमै झर्यो तर सुरुङ निरिक्षणमा गएका दुई वटा सवारी साधनसहित दुई इन्जिनियर र दुई ड्राइभरलाई बगायो । तिमध्ये तीन जनाको मृत्यु भयो ।
इप्तिसा भन्ने मेलम्ची आयोजनाको कन्सल्टेन्टले समेत उल्टो ढोका हाल्न अनुमति दिँदा भएको सुरुङको क्षतिपूर्ती बापत चिनियाँ ठेकेदार कम्पनीले माग दाबी गर्यो । हतारको काम लतार भने झैं तत्कालिन प्रधानमन्त्री ओलीलाई काम गरेको देखाउने चमत्कारिक खत्री अनि परे फन्दामा ।
हतारमा मेलम्चीको पानी काठमाडौं ल्याउने भनेर खत्रीले क्षतिको प्राविधिक मुल्याङ्कन नगरी सिनो हाइड्रोलाई ३० प्रतिशत भेरिएसन अर्डरबाट रकम थप गर्ने सम्झौता गरेर कम्पनीलाई रकम भुक्तानी गरे । खत्री मेलम्चीको कार्यकारी निर्देशकबाट पुरस्कृत भएर खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशक बने ।
आफू महानिर्देशक बन्नुअघि नै उनले ३० प्रतिशत बढी भेरिएसन अर्डर वापतको रकम सिनो हाईड्रोलाई भुक्तानी गरेका थिए । तर २०७८ सालमा सो उल्टो ढोका राखेर गलत काम गरी आयोजनालाई क्षति पुर्याएको भनेर कर्मचारीहरुबाटै चर्को आलोचना भयो ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रीय पात्र खत्रीले आफ्नो अख्त्यिारीको दुरुपयोग र राज्यलाई पुर्याएको गम्भीर क्षतिको दोषबाट उन्मुक्ति पाउन सरुवा भएका थिए । तर प्राविधिक समितिको प्रतिवेदनले २४ प्रतिशतभन्दा बढी भेरिएसन अर्डर ठेकेदार कम्पनीलाई दिनु नपर्ने प्रतिवेदन दियो ।
सोही प्राविधिक समितिको सिफारिस अनुसार आयोजनाका त्यसपछिका कार्यकारी निर्देशक बासुदेब पौड्यालले पहिले नै भुक्तानी भएको एक करोड ५० लाख अर्थात ६ प्रतिशत बढी भेरिएसन अर्डर वापतको रकम कट्टा गरेर मात्र सिनो हाईड्रोलाई दिए ।
त्यस लगत्तै २०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढीले आयोजनाको बाँधस्थल, हेडवक्र्समा ३० फिट बढी पुरेर क्षति पुर्याएको छ । त्यसपछि लगातार सिनो हाईड्रोले आफ्नो एक करोड ५० लाख रुपैयाँ चाहियो भनेर चिनियाँ दुतावासमार्फत दबाब पनि दिइरहेको छ ।
मेलम्ची खानेपानी आयोजनाका तत्कालिन कार्यकारी निर्देशक खत्रीलाई उल्टो ढोका लगाउन अनुमति दिने परामर्शदाता कम्पनी इप्तिसाका प्रतिनिधि महेश भट्टराईले पनि अनुमति दिएका थिए । भट्टराई हाल पनि इप्तिसाका प्रतिनिधि हुन् । जसले पुननिर्माणको जिम्मेवारी सिनो हाइड्रोलाई एक अर्ब बढीमा दिनु पर्छ भनेर सरकारलाई दबाब दिने गर्दथे ।
आयोजनालाई भौतिक र मानविय क्षति पु्र्याउने गरी भएको सो उल्टो ढोका प्रकरणको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राविधिक टोली बनाएर नै अध्ययन गरिरहेको छ । तर त्यो अनुसन्धान टोलीलाई प्रभावित बनाउन खत्रीले आफू सुदूरपश्चिमको भएको भन्दै अख्तियारका एक आयुक्तकोमा धाएका छन् ।
बम थरका एक कानून व्यवसायीको साथ लिएर खत्रीले अख्तियारका एक आयुक्तलाई भेट गरिसकेका छन् । मेलम्चीमा गत असार १ गतेको बाढी पहिरोबाट भएको क्षतिको अध्ययन गर्न समेत उनै तिरेश खत्रीको संयोजकत्वमा समिति गठन गरेको थियो ।
खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशक भएर पनि मेलम्ची खानेपानी आयोजनाको बारम्बार निरिक्षणमा जानु, छानबिन समितिमा बस्नु, हालका कार्यकारी निर्देशक बासुदेव पौडेललाई गाईड गर्छु भन्दै मन्त्री र प्रधानमन्त्रीसम्मालाई भन्नु र परामर्शदाता कम्पनीका प्रतिनिधि महेश भट्टराईसँग बाक्लो भेटघाट हुनुले गम्भीर शंका उत्पन्न गरेको छ ।
विभागका महानिर्देशक खत्रीको मेलम्ची आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख कमल श्रेष्ठसँगको बाक्लो भेटघाटलाई कतै मेलम्ची आयोजनालाई पुन संचालन गर्नमा ढिलाई गर्ने चलखेल त होइन भनेर मन्त्रालयमा चर्चा हुने गरेको छ ।
मेलम्ची खानेपानी आयोजनासँग सिनो हाईड्रोले पुरानो बक्यौता रकम पाउँ भनेर दाबी गरिरहने तर मेलम्ची खानेपानी विकास समितिले टारिरहने प्रबृत्तिलाई खानेपानी मन्त्री उमाकान्त चौधरीले किन नरोकेको होला भनेर सर्बत्र चर्चा छ ।
मन्त्री चौधरीले खत्रीप्रति देखाएको मौनतालाई मन्त्रालयका सचिवले समेत अचम्म मानेर हेरिरहेको स्रोतले बतायो । मेलम्चीमा उल्टो ढोका राखेर बद्नाम कमाएपछि अख्तियारको छानबिनमा परेका उनै खत्री विभागको महानिर्देशक मात्र होइन, हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) संचालक समितिको अध्यक्षको समेत जिम्मेवारीमा छन् ।

