

माओवादी केन्द्र र नेकपा एस एमसीसीप्रति नरम, संसदमा टेबल हुने संभावना

काठमाडौँ – अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधि सभा बैठकमा ‘टेबुल’ गर्न सत्तारूढ गठबन्धनमा आबद्ध चार दल सहमत भएका छन् । तर, कांग्रेसबाहेकका अन्य दलले एमसीसी पारित गर्न भने सर्त राखेका छन् । यसअघि एमसीसी संसद्मा ‘टेबुल’ गर्न दिन नै तयार नभएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी शनिबार एकाएक एमसीसीलाई संसद्मा ‘टेबुल’ गर्न दिन तयार भएका हुन् ।
प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले भने एमसीसीका पक्षमा मतदान गर्ने निर्णय नै गरिसकेको छ भने सरकारमा सहभागी अर्को दल जसपा पनि एमसीसीका पक्षमा नै छ । तर, राष्टिय जनमोर्चा भने अहिले पनि एमसीसी खोरेजीकै पक्षमा छ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी संसद्मा टेबुल गर्ने विषयमा आफ्नो दल तयार रहेको तर संसोधन नगरी पारित गर्ने विषयमा भने सहमत नरहेको बताए ।
‘एमसीसी संसद्मा ‘टेबुल’ गर्न हामी तयार छौं तर संसोधन नगरी यथास्थितिमा पास गर्न सक्दैनौं भनेर हामीले भन्दै आएका छौं, अहिले पनि हाम्रो धारणा यही हो, संसोधन गरेर पास गर्न सकिन्छ,’ माओवादी केन्द्रका नेता श्रेष्ठले भने । नेकपा एसका महासचिव बेदुराम भुषालले संसद्मा छलफलको वातावरण बनेको अवस्थामा एमसीसी टेबुल गरेर छलफलमा जान तयार रहेको जानकारी दिए ।
‘संसद्मा छलफलको वातावरण बन्नुप-यो, एमसीसी टेबुल गरेर सार्वभौम संसद्मा छलफल गर्न हामी तयार छौं,’ नेकपा एसका महासचिव भुषालले भने । उनले एमसीसीलाई जस्ताको तस्तै अनुमोदन गर्न भने नसकिने भन्दै एमसीसीका प्रावधानका विषयमा सार्वभौम संसद्मा छलफल हुने जानकारी दिए ।
‘छलफल गर्ने थलो त्यही हो तर एमसीसी जस्ताको तस्तै अनुमोदन गर्न भने सकिँदैन, कहाँकहाँ समस्या हो, कुनकुन प्रावधान कस्ता छन् छलफल गरेर प्रस्ट पारौं,’ उनले अघि भने ।गठबन्धनमा आबद्ध पाँच दलमध्येको एकघटक जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने आफ्नो दल अहिले पनि एमसीसी नेपालमा ल्याउनै हुन्न भन्नेमा प्रस्ट रहेको बताए ।
‘एमसीसी नेपालमा ल्याउनै हुन्न भन्नेमा हामी प्रस्ट छौं, अहिले पनि हाम्रो धारणा त्यही हो, एमसीसी खोरेजीको पक्षमा हामी छौं,’ जनमोर्चाका अध्यक्ष केसीले भने ।गठबन्धन आबद्ध दल नेकपा एसले भने शनिबार बसेको स्थायी कमिटी बैठकबाट एमसीसी परियोजनासम्बन्धी प्रस्तावलाई संसद्मा टेबुल गर्न दिने निर्णय लिएको थियो ।
गठबन्धनकाे आजकाे बैठकमा एमसीसी ‘टेबुल’ गर्न सहमति हुन सक्ने
प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी परियोजनालाई संसद्मा पेस गरेर संसद् बैठकबाट पारित गर्ने गरी वातावरणको तयारीमा जुटेका छन् ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पार्टीको संसदीय दल र कार्यसम्पादन समितिको बैठकबाट एमसीसीलाई अघि बढाउने निर्णय नै गराइसकेका छन् भने अन्य दललाई पनि एमसीसीको पक्षमा ल्याउने उनको प्रयास जारी छ ।
‘प्रधानमन्त्रीज्यू वातावरण बुझ्दै हुनुहुन्छ, उहाँ प्रमुख प्रतिपक्षीसहितका सकेसम्म सबै दललाई एमसीसीमा सहमत गराउने प्रयत्नमा हुनुहुन्छ, चाँडै नै त्यो वातावरण बन्दै छ,’ प्रधानमन्त्रीनिकट नेपाली कांग्रेसका एक नेताले भने ।
ती नेताले भने, ‘एमसीसीका पक्षमा नेपाली कांग्रेस सिंगो पार्टी नै एक एक ढिक्का छ,, अब सत्तारूढ र विपक्षीलाई पनि एकमत बनाउने प्रयासमा प्रधानमन्त्री हुनुहुन्छ ।’ दलहरूबीच सहमति भए सम्भवतः आइतबार सत्तारूढ गठबन्धन आबद्ध दलहरूको बैठक बसेर साझा रूपमा आइतबार नै संसद्मा एमसीसी टेबुल गर्ने सहमति हुनेछ ।

