

‘न्याय, समानता र समृद्धि जनताले अनुभूत गर्न पाउनु पर्छ’

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले जनतामा आधारित शासन प्रणालीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नु पर्ने बताएकी छन ।
राष्ट्रिय प्रजातन्त्र दिवस २०७८ को उपलक्ष्यमा शुभकामना ब्यक्त गर्दै राष्ट्रपति भण्डारीले सामाजिक न्याय, समानता र समृद्धिको माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउन जोड दिएकी छन ।
उनले प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिन् । राष्ट्रपति भण्डारीले आज दिएको शुभकामना सन्देशमा जहानियाँ निरंकुश शासनविरुद्ध बलिदानीपूर्ण संघर्षको परिणामस्वरूप २००७ सालको आन्दोलन सफल भएर आधारभूत मानवअधिकारको बहाली गराई नेपाली जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरूप प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउँदै आएको बताइन् ।

