युक्रेनसँगको सीमाबाट रुसका केहि सैनिक फिर्ता


काठमाडौं – रुसले युक्रेनको सीमामा तैनाथ १ लाख ३० हजार बढी सैनीक फिर्ता गर्न थालेको छ । युक्रेनको सीमामा पुगेका रुसी सैनिकमध्ये केही आफ्नो ब्यारेकमा फर्किन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

रुसी समाचार संस्था तासले रक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै दक्षिण तथा पश्चिम मिलिटरी डिस्ट्रिक्टका सैनिकहरु आफ्नो ड्रिल सकेर फर्किन लागेको जनाएको छ । सैनिकहरु कोही रेल, कोही गाडी र कोही पैदल फर्किने समाचारमा उल्लेख छ ।

केही समयदेखि रुसी सैनिकले युक्रेनलाई घेरेपछि रूसले आक्रमण गर्न लागेको भन्दै संसारभरिको ध्यान युक्रेनमा केन्द्रीत भएको थियो । अमेरिकालगायत मुलुकहरुले आफ्नो नागरिक र कूटनीतिज्ञलाई युक्रेन छोड्न आग्रह गरेका थिए । रुसले भने युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै योजना नरहेको बताउँदै आएको थियो ।

युक्रेनको सीमामा खटिएका कति सैनिक ब्यारेक फर्किएका हुन् भन्नेबारे विस्तृत विवरण आइसकेको छैन । रुसी सैनिकले तीनतिरबाट युक्रेनलाई घेरेपछि पश्चिमा मुलुकहरूले सैन्य र कूटनीतिक दुबै रणनीति अपनाएका थिए । अमेरिकी युक्रेनका छिमेकी नेटो सदस्य राष्ट्रहरूमा सैनिक थपेको थियो भने मस्कोसँग कूटनीतिक कुराकानीलाई पनि तीव्रता दिएको थियो ।

फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रों रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई भेट्न मस्को पुगेका थिए भने अमेरिकी राष्ट्रपति जो बाइडेनले पुटिनसँग एक घन्टा टेलिफोनमा कुराकानी गरेका थिए । राष्ट्रपति बाइडेनले रुसले फेबु्रअरीमा युक्रेनमाथि हमला गर्न सक्ने बताएका बेला रुसले आफ्ना सैनिक फिर्ता बोलाएको हो ।

प्रतिक्रिया