हराएको मूर्ति भेटिएपछि बाजागाजासहित अबिरजात्रा गरी सुनाकोठी लगिँदै


काठमाडौं । ललितपुर महानगरपालिका-२७ स्थित सुनाकोठीमा रहेको बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला परेको छ । गत माघ ९ गते हराएको बालकुमारी मन्दिरको मूर्ति ललितपुरमा भेटिएपछि बाजागाजासहित सुनाकोठीमा लगिँदै छ ।

स्थानीयले मूर्ति भेटेको खुसीयालीमा बाजागाजासहित जावलाखेलबाट पैदल यात्रा गर्दै बालकुमारी मन्दिरमा मूर्ति प्रतिस्थापना गर्न लागेको हो। खुमलटारस्थित करुणा मन्दिरको हातामा आज बिहान मूर्ति भेटिएको ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।

क्लासिक टावर पछाडिको मन्दिरमा बोरामा व्याक गरेको अवस्थामा शंकास्पद बस्तु भेटिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खोलेर हेर्दा मूर्ति भेटिएको छ । सो मूर्ति चोरीमा संलग्नहरुको खोज भइरहेको एसएसपी पोखरेलले बताए ।

पेसेवर चोरहरुलाई प्रहरीले पक्रेर सोधपुछ गरिरहेको छ । सुनाकोठीका वडा अध्यक्षले मूर्ति फेला पार्नेलाई ५ लाख दिने घोषणा गरेका थिए ।

मूर्ति भेटिएपछि सुनाकोठीवासीले बाजागाजासहित सिन्दुर जात्रा गरेका छन् ।

बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटियो

प्रतिक्रिया