अब तनहुँमै महिला बन्दीगृह
तनहुँ – तनहुँको सदरमुकाम दमौलीमा महिला बन्दीगृह निर्माण गरिएको छ । कारागारको पुराना कार्यालय भवन तथा सुरक्षा ब्यारेकलाई मर्मत र घेराबारा गरी महिला बन्दीगृह निर्माण गरिएको हो । कूल रु ४० लाखको लागतमा २० जना क्षमताको महिला बन्दीगृह निर्माण गरिएको कारागारका जेलर ऋषिराम सुवेदीले जानकारी दिए ।
गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय दमौलीमार्फत रु २० लाख र चालु आर्थिक वर्षमा कारागार व्यवस्थापनबाट २० लाख बजेट विनियोजन गरी उक्त भवन निर्माण गरिएको हो । महिला बन्दीगृह निर्माण सम्पन्नपश्चात पोखरालगायतका लामो दूरीमा महिला कैदीबन्दीलाई पठाउनुपर्ने बाध्यताको अन्त्य हुने कारागार प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालसहितको सुरक्षा निकायको टोलीले केही दिन अनुगमन गरी निर्माण भएको बन्दीगृहमा महिलालाई राख्न उपयुक्त भएको ठहर गरी कारागार विभागलाई पत्राचार गरेको छ ।
कारागारमा नयाँ भवन निर्माण भएपछि पुराना भवनलाई महिला बन्दीगृह बनाइएको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिए । एन्जल कन्स्ट्रक्सनले महिला बन्दीगृह निर्माण गरेको कारागारले जनाएको छ । पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने म्याद रहे पनि उक्त अवधिमा पूरा नभएकाले फागुन १ गतेदेखि सञ्चालनमा ल्याउने लक्ष्य छ ।
कारागारका अनुसार वार्षिकरूपमा १५ महिलालाई जिल्लामा महिला बन्दीगृह नहुँदा बाहिर पठाउनु पर्ने बाध्यता रहेको बताइएको छ । एक सय १५ जना क्षमताको तनहुँ कारागारमा हाल ‘ए’ ब्लकमा १४५ र ‘बि’ ब्लकमा ११२ गरी २५६ जना कैदीबन्दी रहेका छन् ।
काेभिड सङ्क्रमण बढेसँगै तनहुँ कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ । कारागारमा कोरोना सङ्क्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै आफन्तसँग भेटघाट बन्द गरिएको हो ।
सङ्क्रमणबाट सुरक्षित हुन नयाँ कैदीबन्दी र कोरोना लक्षण देखिएका बिरामीलाई कारागारको पुरानो भवनमा अलग्गै राख्ने गरिएको कारागारका सूचना अधिकारी अधिकारीले बताए ।