स्थानीय निर्वाचनमा सिके राउतको जनमत पार्टीले भाग लिने, नेत्रविक्रम चन्द विप्लव नेतृत्वका दल अनिर्णित


काठमाडौं – आगामी जेठभित्र स्थानीय तहको निर्वाचन तयारी भइरहँदा नेपालका दुई वटा पार्टीको सहभागिताबारे चासो र चर्चा सुरु भएको छ।

यसअघि निर्वाचनमा सहभागी नभएका सिके राउत नेतृत्वको जनमत पार्टी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी अहिले मूलधारको राजनीतिमा छन्।

अघिल्लो स्थानीय निर्वाचन जनमत पार्टीले बहिस्कार गरेको थियो भने नेकपा माओवादीले निर्वाचन बिथोल्ने निर्णय गरेको थियो। तर के यी दुवै दलले अबको स्थानीय निर्वाचनमा भाग लिएर मूलधारको राजनीतिमा अवतरणलाई निरन्तरता देलान् ?

केही वर्ष स्वतन्त्र मधेस गठबन्धनका बनाएर पृथकतावादी अभियानमा लागेका कारण पटक-पटक पक्राउ परेका राउत विसं २०७५ फागुनमा सरकारसँग सहमतिपछि मूलधारको राजनीतिमा आएका थिए। अघिल्लो संसदीय निर्वाचन बहिस्कार गर्दा जनकपुरबाट पक्राउ परेका राउतले नेतृत्व गरेको जनमत पार्टीका कार्यकर्ताले गत माघ १२ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनमा पनि अवरोध पुर्‍याउने प्रयास गरेका थिए।

तर जेठमा हुने भनिएको स्थानीय तहको निर्वाचनमा भने यो पार्टीले सहभागिता जनाउने तयारी गरिरहेको अध्यक्ष राउतले बताए। राउतले भने, ‘हामी स्थानीय निर्वाचनमा सहभागी हुन्छौँ र हामीले त्यसको तयारी गरिरहेका छौँ।’

‘सङ्गठन बनाउने क्रममा वडा अधिवेशनदेखि महाधिवेशनसम्म पनि सम्पन्न गरिसकेका छौँ। विभिन्न ठाउँमा हाम्रा सम्भावित उम्मेदवारहरूको पनि खोजी कार्य जारी छ।’ यो पार्टीले आफ्नो प्रभाव क्षेत्र मधेस प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश १ का स्थानीय तहमा उम्मेदवारी दिने तयारी गरिरहेको जनाएको छ।

आफ्ना राजनीतिक गतिविधि मधेस प्रदेशमा केन्द्रित गरे पनि यो पार्टीले काठमाडाैं उपत्यकामा पनि सङ्गठन विस्तार गरेर उम्मेदवारी दिने योजना बनाएको नेताहरू बताउँछन्।

प्रतिक्रिया