

प्रदेशमा मन्त्रालय फुटाएर संघीयता बदनाम गरिँदै छ : गुरुराज घिमिरे
कांग्रेस कसैको 'नीजि' या घरेलु मामिला हो र!कसरी चल्छ,हेरौंला'

काठमाडौं –नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले प्रदेश १ मा मन्त्रालय फुटाएर संघीयतालाई बदनाम गर्ने काम गरिएको बताएका छन् । संघीयता आफैँमा खर्चिलो भनेर आलोचित भइरहेका बेला मन्त्रालय फुटाउने र गुट बलियो बनाउने कामले पार्टी र देश दुवैलाई कमजोर पारेको उनले बताए ।
‘धमाधम मन्त्रालय फुटाएर यसै खर्चिलो संघीयतालाई प्रदेश–१ ले थप बदनाम बनाएको छ’, उनले भने, ‘गठबन्धन र गुट व्यवस्थापनका नाममा गरिएको यो प्रयासले संघीयता र दलहरूलाई जनताका नजरमा पनि गिराउने छ ।’
उनले मन्त्रालय फुटाउने काम गठबन्धन र गुट व्यवस्थापनको गलत नियतबाट भएको पनि दाबी गरे ।
त्यस्तै प्रदेश नं १ को मन्त्रिपरिषद् बिस्तारलाई लिएर शेखर काेइराला नेतृत्वकाे समूह रुष्ट बनेकाे छ । प्रदेश १ मा संस्थापन पक्षले एकलाैटी गरेर केही नयाँ मन्त्री बनाएपछि काेइराला पक्ष रुष्ट बनेकाे हाे । काेइरालाका विश्वासपात्र मानिने केदार कार्कीले मन्त्रीकाे सपथ ग्रहण कार्यक्रम नै बहिष्कार गरेका थिए ।
सभापती शेरबहादुर देउवा पक्षले एकलाैटी पार्टी तलाउन खाेजेकाे भन्दै काेइराला पक्षका नेता गुरूराज घिमिरेले कडा आलाेचना गरेका छन् । प्रदेश १ मा काेइराला पक्षबाट सभापतिमा प्रतिस्पर्धा गरेका उनले ट्विटरमा त्यस्ताे असन्तुष्टि व्यक्त गरेका छन् ।
‘चरम सामन्तवादी,गुटगत,विधानको भावना र संघीयताको मर्म विपरीत छ। यसले पार्टीभित्रको शक्ति सन्तुलन र आन्तरिक एकतालाई निरुत्साहित गर्दै पुरै खल्बल्याएको छ।के यसरी तिनै तहको चुनाव जितिएला?कांग्रेस कसैको नीजि या घरेलु मामिला हो र!कसरी चल्छ,हेरौंला’, घिमिरेले ट्विटरमा लेखेका छन् ।

