

साढे ४० अङ्कले घट्यो नेप्से, परिसूचक २८ सय ३६ दशमलव १७ विन्दुमा

काठमाडाैं – हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से घटेको छ । नेप्से आज आइतवार ४० दशमलव ५७ अङ्कले घटेर दुई हजार आठ सय ३६ दशमलव १७ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर ओरालो लागेकोमा बीमा, विकास बैंक, उत्पादन र फाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । आज एक करोड ६ लाख कित्ता शेयर पाँच अर्ब ८३ करोड ६४ लाख रुपैयाँमा किनबेच भएको छ ।
सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको ५४ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भयो । आज विन नेपाल लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ ।
यस्तै नेपाल लाइफ इन्स्याेरेन्सको शेयर साढे सात प्रतिशत र बुद्धभूमि नेपाल हाइड्रोको शेयर साढे ६ प्रतिशतले ओरालो लागेको छ । समग्र बजार घट्दा पनि नेपाल हाइड्रोको शेयर आठ प्रतिशतले बढेको छ ।

