
नेताहरूले गर्दा देश बिग्रियो : मन्त्री आले
काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेताहरूको कुदृष्टिको कारणले गर्दा देश बिग्रिएको बताएका छन् । शुक्रवार पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले नेताहरूको कारण देश बिग्रिएको बताएका हुन् ।
मन्त्री आलेले आजको दिनसम्म मन्त्रालय अन्तर्गतको विभिन्न अनियमितताहरूको अध्ययन गर्नमै आफ्नो समय खर्च भइरहेको उल्लेख गरे । उनले तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले बतास समूहसँग सेटिङ गरी सस्तोमा जग्गा भाडामा उपलब्ध गराउनेदेखि विभिन्न निकायहरूमा बतास समूहसँग सम्बन्धित मान्छेहरूलाई राजनीतिक नियुक्ति दिलाएको आरोप पनि लगाए ।
उनले भने – ‘पशुपतिमा धर्मशाला बनिसकेपछि त्यसको टेन्डर प्रक्रिया पनि पशुपति क्षेत्र विकास कोषको मिटिङ बसेर मिटिङले पास गरेपछि मात्र टेन्डर गर्न पाउने कुरा हो । परिषद्को मिटिङबाट त्यो पास पनि भएको छैन । हतार हतारमा टेन्डर निकालेर सेटिङमा त्यो पनि उहाँले लिनुभएछ । हेर्दाखेरी सबै प्रक्रिया गलत छ । उहाँ बतासकै पार्टनर रहेछन् डिमप्रसाद पौडेलजी । त्यही मान्छेलाई ल्याएर योगेश भट्टराईजीले के गर्नुभयो, निगमको एमडी बनाउनुभयो । बतासलाई यता धर्मशाला बुझाउनुभयो । यता ल्याएर निगमको एमडी बनाउनुभयो । बतास र धनन्जय रेग्मी पार्टनर । अनि उहाँलाई ल्याएर पर्यटन बोर्डको सिइओ बनाउनुभयो । कस्तो सेटिङ हेर्नुस् । अनि कसरी बन्छ त हाम्रो देश ? सबभन्दा बढी यसको गल्ती भनेको म आफैँलाई भन्छु, नेताहरूले गर्दा खेरी हाम्रो देश बिग्रिएको । नेताहरूको चरित्र असल भएको भए यो नेपाल अहिले यो अवस्थामा हुन्थेन । जम्मै नेताहरूको कुदृष्टिको कारणले गर्दा भएको हो । यो देश बिग्रिने पहिलो कारण भनेको पोलिटिसिएन । सेकेण्ड चाहिँ ब्युरोक्रयाट पनि होलान् ।’



कागजपत्र |
