

देशभर सुरक्षा सतर्कताः सिडियो र जिल्ला सुरक्षा प्रमुखलाई बिदा नबस्न र कार्यक्षेत्र नछाड्न गृहको निर्देशन

काठमाडौं – सरकारले पछिल्लो परिस्थितिलाई ध्यानमा राखी देशभरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र जिल्ला सुरक्षा प्रमुखहरूलाई जिल्ला नछाड्न निर्देशन दिएको छ।
सरकारले प्रतिनिधिसभा विघटनपछि गरेपछि उत्पन्न परिस्थितिका कारण त्यसको समर्थन वा विरोधमा प्रदर्शन वा हुलदंगा हुन सक्ने भन्दै शान्ति–सुरक्षाका लागि सतर्क रहन गृह मन्त्रालयले निर्देशन दिएको हो।
गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रजिअ र चारवटै सुरक्षा निकायका जिल्ला प्रमुखहरूलाई एक परिपत्र जारी गर्दै मन्त्रालयको अनुमतिबिना जिल्ला छाडेर अन्यत्र नजान निर्देशन दिएको हो। घटनाक्रम र यसले निम्त्याउने सम्भावित परिस्थितिलाई ध्यानमा राख्दै प्रजिअ र जिल्ला सुरक्षा प्रमुखलाई अर्को आदेश नभएसम्म बिदा समेत नबस्न भनिएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिएका छन्।

