अमेरिकामा पाँच वर्षभन्दा मुनिका बालबालिकालाई पनि कोरोना खोप दिने तयारी


एजेन्सी – अमेरिकामा पाँच वर्षमुनिका बालबालिकालाई पनि कोभिड–१९ विरुद्धको खोप दिने तयारी सुरु गरिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अमेरिकी औषधि नियामक एफडीएका अनुसार फेब्रुअरीको अन्तिमसम्ममा फाइजरको कोरोना विरुद्धको खोपले ५ वर्षमुनिका बालबालिकामा प्रयोगको लागि अनुमति पाउने सम्भावना छ।

एफडीएका अनुसार फाइजरले दुई डोज खोपको लागि आवेदन दिने तयारी गरिरहेको छ। कम्पनीले तेस्रो डोजको लागि पनि अध्ययन गरिरहेको छ। तर, यसको नतिजा भने मार्चसम्ममा मात्र आइपुग्ने अनुमान छ।

कोरोनाको ओमिक्रोन भेरियन्टसहितको संक्रमण बढेसँगै अमेरिकामा बालबालिकामा पनि कोरोना संक्रमण बढेको छ। अमेरिकाको एकेडेमी अफ पिडियाट्रिक्सका अनुसार गत महिना अमेरिकामा ३५ लाखभन्दा धेरै कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

यद्यपि केही मात्र बालबालिकालाई अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था उत्पन्न भएको छ। फाइजरले गत डिसेम्बरमा बालबालिकाको लागि कोरोना खोपको परीक्षण गरेको थियो। यसमा मिश्रित नतिजा आएको थियो।

प्रतिक्रिया