


रावल र भट्टराईबीच ट्वीटर जुहारीः पीएचडीलाई ‘नक्कली’ भनेपछि रावलले दिए यस्तो जवाफ

काठमाडौं – एमसीसीका विषयमा नेताहरुबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेकपा एमालेका नेता डा. भीम रावलबीच सामाजिक सञ्जालमा एक अर्कालाई दोषारोप गरिरहेका छन् ।
भट्टराई प्रधानमन्त्री भएका बेला ‘गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ आरोप नेता रावलले लगाएपछि भट्टराईले आक्रोश पोख्दै रावल नक्कली पीएचडी हुन् कि भनेर टिप्पणी गरेका थिए ।
रावलले सामाजिक सञ्जाल ट्वीटरमा त्यसमा जवाफ फर्काएका हुन् । जवाफमा एमाले नेता रावलले भट्टराई प्रधानमन्त्री हुँदा २०६८ मा एमसीसी सम्झौता गुपचुप रूपमा गरिएको दावी गरेका छन् । नक्कली पीएचडीका सम्बन्धमा रावलले यस्तो सीमापारि (भारत) मात्र हुने, नेपालमा नहुने भनेर कटाक्ष गरेका छन् ।
यस्तो लेखेका थिए भट्टराईले सामाजिक सञ्जालमा
‘यी कण भीम रावलले पीएचडी गरेको गरेको भनेर नाउँको अगाडि ‘डा.’ पनि झुन्ड्याउँछन् ! विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको स्रोत/मिति/स्थान खुलाउनुपर्छ । उनले दाबी गरेजस्तो ‘बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ हो भने कहिले, कहाँ, कसरी खुलाउनु पर्दैन ? कि यी नक्कली पीएचडी हुन् ?’
यस्तो थियो रावलको जवाफ
‘बाबुरामजी प्रम हुँदा २०६८ मा चुपचाप एमसीसीसँग पत्राचार गरी टोली गठन गरिएको तथ्य मैले उल्लेख गरेको छु। त्यो बेला दलीय सहमतिबाट मात्र त्यस्तो गर्न सकिन्थ्यो, तर जानकारीसम्म गराइएन’, रावलले जवाफमा लेखेका छन्, ‘पीएचडी नक्कली सीमापारि हुने गरेको सधैं चर्चा हुन्छ, त्रिविविबाट पीएचडी कसैको नक्कली हुने चर्चा नै हुन्न ।’

