विद्युतीकरण योजना अधुरै


म्याग्दी – म्याग्दीको मालिका गाउँपालिकाको तीन वटा वडामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार गर्न सञ्चालित आयोजना अलपत्र परेको छ । तीन वर्षअघि नै बत्ती बलिसक्नुपर्ने गाउँमा लगिएका पोल गाड्ने र तार तान्ने काम अझै भएको छैन ।

नेपाल विद्युत् प्राधिकरणले पर्वतको मिलनचोकदेखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने प्रसारण लाइन, ३३/११ केभी क्षमताको रातोढुङ्गा सवस्टेशन र आसपासका तीन वटा वडामा विद्युतीकरण गर्न सन् २०१६ मा आयोजना सुरु गरेको थियो ।

मालिका गाउँपालिकाको वडा नम्बर १ निस्कोटको खहरे, रिठेचौर, साउँबोट, बाासबोट, छिस, भट्टखोला, घोर्सीका ३०० घरधुरीमा विद्युतीकरण गर्न तीन वर्षअघि लगिएका पोल अझैँ नगाडेको खहरेका रनबहादुर पुनले बताए ।

‘सडकको वरपर राखिएका बिजुलीका पोल झाडीले पुरिएका छन्’, उनले भने, ‘पोल ल्याएको तीन वर्षपछि हालै तीन रोल एबिसी केबुल आएपनि पोल गाड्ने र तार तान्ने काम भएको छैन ।’ ५०० घरधुरी रहेको मालिका–२ रुममा पोल गाडेको तार तानेको र ट्रान्सफर्मर जडान भए पनि केन्द्रीय लाइन विस्तार नभएको वडाध्यक्ष नरबहादुर पुनले बताए । १५० घरधुरी भएको मालिका–६ को उपल्लो दुखुमा तीन वर्षअघि ढुवानी गरिएको पोल गाडेर हालै तार तान्न थालेका स्थानीय ओमकार रोकाले बताए ।

तीन वटै बस्तीका बासिन्दा लघु जलविद्युत् परियोजना नियमित सञ्चालन नहुने र केन्द्रीय लाइन विस्तारमा ढिलाइ हुँदा उज्यालोका लागि टुकी, दियालो र सोलारमा निर्भर हुनुपरेको खहरेका सम्मरसिंह पुनले बताए । ‘विद्यालयमा कम्प्युटर विषयको पठनपाठन सञ्चालन गर्नदेखि घरायसी काम प्रभावित भएको छ’, उनले भने, ‘मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारसँगै जोडिएको हाम्रो बस्तीमा अझै केन्द्रीय लाइनको बिजुली बलेको छैन ।’

नेपाल विद्युत् प्राधिकरणमार्फत ए टु जेड इन्जिनियरिङले करिब आठ करोड रुपैयाँमा सन २०१६ मा ठेक्का लिएको सवस्टेशन, मिलनचोकदेखि २२ किलोमिटर प्रसारण लाइन, दुखु, निस्कोटको तल्लो क्षेत्र र रुममा विद्युतीकरण गर्ने काम २०१८ को डिसेम्बरमै सक्ने लक्ष्य थियो ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गत सम्बद्ध आयोजनाको बेवास्ता र निर्माण व्यवसायीको लापरबाहीका कारण सवस्टेशन, प्रसारण लाइन र तीन वटा बस्तीमा बिजुली बाल्ने योजना अधुरो बनेको मालिका–१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले बताए ।

२० किलोमिटर दूरीसम्म एउटा सवस्टेशनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड भए पनि मिलनचोक सवस्टेशनदेखि तीन वटा फिडरबाट ८० किलोमिटरसम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्ति गराउन समस्या भएको छ ।

म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा विद्युत् आपूर्ति सहज बनाउन रातोढुङ्गा सबस्टेशनलाई जति सक्दो छिटो सम्पन्न गराउनुपर्ने नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्तकुमार झाले बताए ।

रातोढुङ्गा सबस्टेशन आयोजनाका इन्जिनियर कपिल पाण्डेले धेरै प्रयासपछि ठेकेदारलाई काममा फर्काएको र अधुरा काम सक्न ताकेता गरिएको बताए । ‘ठेकेदारलाई धेरै पटक ताकेता गरेर काममा फर्काएका छौँ’, उनले भने, ‘बाँकी कामलाई पूर्णता दिन पहल, समन्वय र ताकेता गरेका छौँ ।’

प्रतिक्रिया