फोनपे र खल्तीबीच भयो यस्तो सम्झौता


काठमाडाैं – भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड र भुक्तानी सेवा प्रदायक खल्ती डिजिटल वालेट (स्प्यारो प्रा.लि.) बीच सहकार्य भएको छ । सोमवार एक कार्यक्रमको आयोजना गर्दै फोनपे र खल्तीले सहकार्यको घोषणा गरेको हो ।

कार्यक्रममा फोनपेका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र खल्तीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले हस्ताक्षर गरे । सम्झौतासँगै अब खल्ती फोनपे नेटवर्कमा आवद्ध भएको छ ।

अबदेखि खल्तीका प्रयोगकर्ताले फोनपेको क्यूआर मार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन् । यो सहकार्य नेपालको फिनटेक उद्योग र डिजिटल कारोबारमा ठूलो उपलब्धी हुने विश्वास लिइएको फोनपेले जनाएको छ ।

सम्झौतापश्चात फोनपेका नायब प्रमुख कार्यकारी अधिकृत सापकोटाले क्यासलेस अर्थतन्त्र निर्माण गर्ने उद्देश्यमा आफूहरूको सहकार्यले थप भूमिका खेल्ने बताए । उनले भने, ‘पछिल्ला दिनमा नेपालमा डिजिटल कारोबारलाई तिव्रता दिइरहेको खल्तीसँग सहकार्य गर्न पाउँदा खुशी छौँ । हामी दुवै कम्पनीको लडाईं भनेको नगद कारोबारसँग हो ।’

कार्यक्रममा खल्तीका प्रमुख कार्यकारी अधिकृत खड्काले खल्ती र फोनपेबीचको सहकार्यले २० लाखभन्दा बढी खल्तीका प्रत्यक्ष प्रयोगकर्ता र लाखौँ अप्रत्यक्ष जनता लाभान्वित हुने बताए । उनले भने,‘हामी दुवैको ठूलो उद्देश्य एउटै छ जुन हो नेपाललाई डिजिटल बनाउने, जसका लागि हामी सँगै अघि बढ्दै छौँ ।’

डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडि फोनपे स्थापना भएको थियो । हालसम्म फोनपेमा ५ लाख ५० हजारभन्दा बढी मर्चेन्ट रहेको कम्पनीले जनाएको छ । बैंक तथा वित्तीय संस्था भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोवाइल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् ।

प्रतिक्रिया