प्रतिपक्षी भन्दा उग्र भएर घेराबन्दी गरेपछि जनतामा जाने निर्णय लिएँः प्रधानमन्त्री ओली


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताले प्रतिपक्षी भन्दा उग्र भएर घेराबन्दी गरी सरकार असफल बनाउन खोजेपछि ताजा जनमतमा जाने निर्णय लिएको बताएका छन्।

सोमबार जनताको नाममा सम्बोधन गर्दै अन्तिम निर्णय जनता नै रहेका कारणले प्रतिनिधि सभा विघटनको निर्णयमा पुगेको ओलीले बताए। राज्यका प्रदेश सभा, स्थानीय सरकार र राष्ट्रिय सभा कायम नै रहेको बताउँदै यो निर्णय लोकतान्त्रिक मान्यताका लागि नै गरिएको प्रधानमन्त्रीको दाबी थियो।

उनले अब आमनिर्वाचनको तयारीमा लाग्न अनुरोध गरेका छन् । निर्वाचनमा जाँदा संविधान अप्ठ्यारोमा पर्छ, लोकतन्त्र संकटमा पर्छ र मुलुक अस्थिरतातर्फ धकेलिन्छ भनेर चलाउन खोजिएका प्रचार र भ्रमहरु निराधार रहेको उनले बताए। ‘राजनीतिक स्थिरताको प्रत्याभूति गर्ने निर्णायक तत्व जनताको अभिमत हो’ उनले भने,‘ तसर्थ कुन कुरामा नअल्मलिई आम निर्वाचनको तयारीमा जुट्न आहृवान गर्दछु ।’

प्रधानमन्त्री ओलीले आम निर्वाचनको जनादेश र जनभावनाविपरीत राष्ट्रिय राजनीतिमा अर्थहीन र अन्त्यहीन सिर्जना गरेपछि निर्वाचनको घोषणा गरिएको बताए ।

प्रतिक्रिया