शिक्षा मन्त्रालय मातहत रहेका भौतिक सम्पत्ति निजी क्षेत्रलाई प्रयोग गर्न दिन्नौं : मन्त्री पौडेल


काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय मातहत रहेका सरकारको भौतिक सम्पत्ति निजी क्षेत्रलाई प्रयोग गर्न नदिने बताएका छन् ।

आइतबार केशर महलको निरिक्षण गर्दै मन्त्री पौडेलले महल परिसरमा रहेको जमिन निजी क्षेत्रलाई प्रयोजनका लागि नदिने बताएका हुन् । महलको निरिक्षण गर्दै मन्त्री पौडेलले सरकारी संरचनाहरू नियमविपरीत निजी क्षेत्रलाई प्रयोगमा दिएको पाइएमा कानुनअनुसार कारबाही गरिने पनि बताए ।

उनले विभिन्न सञ्चार माध्यमहरूमा केशर महल बाहिरको जग्गा निजी क्षेत्रलाई निजी प्रयोजनका लागि दिन खोजेको भन्ने समाचार प्रकाशित भएको भन्दै महलको निरीक्षण गरेको बताए ।

मन्त्री पौडेलले महलको पुनर्निर्माणमा ढिलाइ हुँदा मन्त्रालयसँग सम्बन्धित कतिपय कामहरू व्यवस्थित गर्नका लागि भौतिक ठाउँहरूको अभाव भएको समेत बताए ।

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महलको पुनर्निर्माणको काम चलिरहेको छ । केशर महलको पुनर्निर्माणपछि त्यहाँको संरचनालाई कसरी प्रयोग गर्ने भन्नेबारेमा सुझाव दिन गठित कार्यदलले तयार पारेको अध्ययन प्रतिवेदन प्रारुपबारेको छलफलअनुसार स्वप्न बगैँचा विकास समितिलाई केशर महल विकास समिति बनाउने निर्णय गरेको छ । यस्तै त्यहाँको भौतिक संरचनालाई व्यापारिक कार्यमा प्रयोग गर्ने प्रतिवेदनको मस्यौदामा समावेश गरिएको बताइएको छ । केशरमहल ३४ रोपनी, दुई आना, एक पैसा, तीन दाम क्षेत्रफलमा फैलिएको छ भने त्यहाँ रहेको स्वप्न बगैँचा आठ रोपनी क्षेत्रफलमा रहेको छ ।

प्रतिक्रिया