प्राकृतिक विपद्‍बाट जोगिन सबैको हातेमालो जरुरी : गृहमन्त्री


काठमाडौं– प्राकृतिक विपद्लाई विज्ञान र सीपको प्रयोग गरेर न्यूनीकरण गर्न सरकार क्रियाशील रहेको गृहमन्त्री बालकृष्ण खाणले बताएका छन्। भर्चुअल माध्यममा भएको विपद् न्यूनीकरणसम्बन्धी कार्यक्रममा गृहमन्त्री खाणले प्राकृतिक विपद्बाट नागरिकलाई बचाउन सबैको हातेमालो जरुरी रहेको बताए।

देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी भर्चुअल माध्यमबाट जोडिएको कार्यक्रममा गृहमन्त्री खाणले पुर्खाले अवलम्बन गर्दै आएका परम्परागत सीपको प्रयोग विपद् जोखिम न्यूनीकरणमा लगाउनसमेत आग्रह गरे। गृहमन्त्री खाणले भवन निर्माणको मापदण्ड पालना गर्नसमेत आग्रह गरे।

पहाडमा जथाभावी खनेर बाटो बनाएका कारण जोखिम बढेको र नयाँ निर्माणले पुरानो संरचनामा जोखिम ल्याएकाले त्यसलाई कसरी घटाउने भन्नेबारेमा सरकार लागिरहेको उनको भनाइ थियो।

गरिब तथा अशक्तलाई तराईमा शीतलहर र हिमालमा हिमपातबाट बचाउन सक्रियरूपमा लाग्नसमेत प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्री खाणले निर्देशन दिए। कोभिड–१९ बाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्नसमेत उनले आग्रह गरे।

प्रतिक्रिया