लोकतान्त्रिक मूल्यअनुरूप निर्वाचन गर्न गठबन्धन प्रतिबद्ध : प्रचण्ड


काठमाडाैँ – सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूको पाँच दलीय गठबन्धन देशलाई संविधानसम्मत ढंगले अगाडि बढाउन, लोकतान्त्रिक मूल्यअनुरूप आवधिक निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको बताएका छन्।

शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा सम्पन्न गठबन्धनको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै प्रचण्डले आफूहरू संविधानबमोजिम तोकिएको समयमै चुनाव गर्न प्रतिबद्ध रहेको बताएका हुन्।

उनका अनुसार शनिबार बसेको पाँचदलीय उच्चस्तरीय समितिको बैठकले गरेका निर्णय यी हुन् :

१. स्थानीय तहको निर्वाचन जेठ महिनाभित्र सम्पन्न गर्न प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिने।

२. संविधानसँग बाझिएका निर्वाचन कानुन/ऐननलाई आवश्यक संशोधन गर्नाका लागि सरकारलाई सुझाव दिने।

आगामी वैशाख-जेठभित्र स्थानीय तहकाे निर्वाचन गर्नेगरी मिति ताेक्न निर्वाचन आयोगले तीन पटकसम्म सरकारलाई ताकेता गरेको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले पनि बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई सातबुँदे पत्र पठाएर निर्वाचन सार्ने नाममा संविधान र कानुन संशोधन निराशाजनक हुने बताएकी थिइन्।

शनिबार बिहान बसेको गठबन्धन बैठकमा प्रधानमन्त्री देउवाले स्थानीय तह निर्वाचन मिति नसारी वैशाख-जेठमै गर्ने जनाउ गठबन्धनका नेताहरुलाई दिएका थिए।

सत्ता गठबन्धनका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले स्थानीय निर्वाचन आगामी असोज या मंसिरमा गर्न सकिने बताइरहेका थिए।

उनीहरुले तीनै तहको निर्वाचन एकैसाथ गर्नुपर्ने प्रस्ताव पनि गठबन्धन बैठकमा राखेका थिए। तर स्थानीय तहकाे निर्वाचन सार्ने प्रस्तावकाे चर्को आलोचना भइरहेको थियाे।

प्रतिक्रिया