आयस्रोत नहुँदा वृद्धाश्रम सञ्चालनमा समस्या


रूपन्देही – रुपन्देहीको ओमसतिया–४ वसन्तपुरमा सञ्चालित वृद्धाश्रममा आर्थिक अभाव भएको छ । श्री सत्यसाई वृद्ध सेवा आश्रमको नाममा वृद्धहरूलाई सेवा दिइरहेको यो वृद्धाश्रमको स्थायी आम्दानीको स्रोत नहुँदा सञ्चालनमा समस्या देखिएको हो ।

विसं २०५९ मा स्थापना भएको वृद्धाश्रममा नेपालका धेरै जिल्लाका वृद्धवृद्धा आश्रयका लागि यहाँ आउने गरेका छन् । आश्रम व्यवस्थापन शाखाका अनुसार सरदर ३० जनाको क्षमता रहेको आश्रममा हाल नौ आमा र पाँच बुवा गरी जम्मा १४ जनाले आश्रय लिइरहेका छन् ।

परिवारबाट अपहेलित भई वृद्धाश्रममा आउने आमाबुवाको पालनपोषणका लागि हाल आश्रममा तीन कर्मचारी र केही स्वंयसेवक खटिए पनि आर्थिक अभाव टार्नका लागि आर्थिक स्रोत कमजोर रहेको आश्रम सञ्चालक समितिले जनाएको छ ।

मासिकरूपमा दूध, तरकारी, ग्यास, विद्युत् र पानीको खर्च मात्र रु ३५ देखि रु ४० हजारसम्म हुने भन्दै वृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष माया खरालले अन्य खाद्यान्न स्थानीय र सङ्घसंस्थाको सहयोगमा चलेको जानकारी दिए । वृद्धाश्रम सञ्चालनका लागि जिन्सी र खाद्यान्न सामान स्थानीयवासी र सङ्घसंस्थाले सहयोग गर्ने गरे पनि आर्थिक सहयोग भने सधैँ अभाव रहेको वृद्धाश्रम सञ्चालक समितिले जनाएको छ ।

वृद्धाश्रममा आश्रय लिएका आमाबुवाका लागि मासिकरूपमा स्वास्थ्योपचार गर्नसमेत स्थायी व्यवस्था नहुँदा प्रायः दाताहरूलाई गुहार्नुपरेको आश्रम व्यवस्थापक केशव पौडेलले बताए । वृद्ध अवस्थामा समाजले समेत वास्ता नगर्दा वृद्धाश्रममा पुग्ने वृद्ध आमाबुवाको आश्रमलाई स्थानीय सरकार तथा प्रदेश र केन्द्रीय सरकारले समेत चासो दिएको छैन । वृद्धाश्रममा आश्रय लिइरहेकी ७५ वर्षीया वृद्ध आमा रानी खाँणले भनिन्, “परिवारमा आमाबुवा वृद्ध भइसकेपछि उहाँहरूलाई घृणाको दृष्टिले हेर्ने छोराछोरीलाई समेत कर्तव्य र संस्कार सिकाउनु आवश्यक छ ।”

प्रतिक्रिया