आजदेखि आधिकारिक रूपमा टाटा समूहकाे भयाे एअर इन्डिया
नयाँदिल्ली – भारतको टाटा समूहले आज बिहीवार आधिकारिक रूपमा एअर इन्डियाको अधिग्रहण गरेको छ । केन्द्रीय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले एअर इन्डियाको अधिग्रहण प्रक्रिया पूरा भएको बताए । अधिग्रहणको घोषणाअघि ‘टाटा सन्स’ का प्रमुख एन चन्द्रशेखरनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका थिए ।
यसअघि सन् २०२१ को अक्टोबरमा एअर इन्डियाकाे लिलामीका लागि गरिएको प्रस्तावमा ‘टाटा सन्स’ ले सबैभन्दा धेरै रकम अघि सारेकाे थियो। योसँगै एअर इन्डियाको अधिग्रहण प्रक्रिया सुरु भएको थियो ।
रतन टाटाले एअर इन्डियाको घर फिर्तीको स्वागत गर्दै भनेका छन्, ‘टाटा समूहका लागि एअर इन्डियाको अधिग्रहण लिन पाउनु एक निकै ठूलो खबर हो । एअर इन्डियालाई फेरि उठाउनका लागि हामीले निकै कोसिस गर्नुपर्ने हुन्छ ।’
एयर इन्डियाकाे इतिहासकाे कुरा गर्दा यसकाे सुरुवात सन् १९३२ अप्रिलमा भएकाे थियाे । यसकाे स्थापना उद्योगपति जेआरडी टाटाले गरेका थिए । त्यस समय एअरलाइन्सकाे नाम टाटा एअरलाइन्स थियाे ।
याेसँगै एअरलाइन्सकाे पहिलाे व्यावसायिक उडान सन् १९३२ अप्रिल १५ मा भएकाे थियाे । त्यस बेला मात्र सिङ्गल इन्जिनकाे ‘ह्याभील्यान्ड पस माेथ’ हवाई जहाज थियाे जुन जहाज अहमदाबाद–कराचीकाे बाटाे भएर मुम्बई गएकाे थियाे । जहाजमा त्यस समय एक जना पनि यात्रु थिएनन्, २५ किलाे चिठी राखिएकाे थियाे ।