विद्यालय खोल्न निजी तथा आवासीय विद्यालय सञ्चालकको माग


काठमाडौं – निजी विद्यालय सञ्चालकहरुले कोरोनाको ओमिक्रोन भेरियन्टका कारण बन्द विद्यालय खुलाउन माग गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निजी तथा आवासीय विद्यालयहरुका पदाधिकारीसँग सुझाव लिनका लागि बोलाएको छलफलका क्रममा उनीहरुले यस्तो माग गरेका हुन् ।

बुधबार र बिहीबार मन्त्रालयमा प्याब्सन तथा एनप्याब्सनका पदाधिकारीसँग पौडेलले शैक्षिक सुधारका विषयमा सुझाव लिएको मन्त्रीको सचिवालयले जनाएको छ । सुझावमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालले कोराना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनका कारण बन्द विद्यालय खोल्न दिन माग गरेका थिए । प्याब्सनले खोप लगाइसकेका विद्यार्थीलाई आलो पालो प्रणालीमा भौतिक उपस्थितिमै माघ २३ गतेदेखि कक्षा सञ्चालन गर्न दिने व्यवस्था गर्न सरकारसँग माग गरेको हो ।

प्याब्सनका अध्यक्ष टिकाराम पुरीले निजी स्कुलले गरेका राम्रा कामहरुको मुल्यांकन सरकारले गर्नुपर्ने बताए । उनले विद्यार्थीलाई खोप दिने सरकारले भनेपनि शिक्षक, कर्मचारीलाई बुस्टर डोज दिनेबारे गम्भीर नभएको गुनासो गरे । देशका सबै विद्यालय बन्द गर्नुका साटो कोभिड प्रभावित क्षेत्र तोकेर अन्य विद्यालयलाई सञ्चालनको वातावरण गराउन प्याब्सनले माग गरेको छ ।

यस्तै, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपालले सहुलियपूर्ण कर्जामा छुटको व्यवस्था माग गरेको छ । ‘स्कुल चलाउन हामीले बैंकबाट लोन लिएका छौ’, एसोसिएसन अध्यक्ष ऋतुराज सापकोटाले भने, ‘गत वर्ष कर्जामा ५ प्रतिशत छुट भएको थियो, यस वर्षपनि छुटका लागि पहल गरिदिनुपर्यो ।’ संक्रामक रोग ऐन २०२० ले गृह र जिल्ला प्रशासनलाई मात्रै चिनेको बताउँदै ऐन संशोधन गरी समयानुकुल गराउन माग गरेको छ । छलफलमा मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधार्न निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने बताएका थिए ।

प्रतिक्रिया