प्रचण्ड निवास खुमलटारमा ‘खाना खाएर’ निस्किए प्रधानमन्त्री ओली


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादकाबीच अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी निवास खुमलटारमा शनिबार डेढ घन्टा बसेका छन्।

आइतबार हुने स्थायी समिति बैठकमा संयुक्त प्रस्ताव लैजाने विषयमा कुराकानी केन्द्रित थियो। विभिन्न ठाउँमा समूहगत भेला र सम्बोधन भइरहेका बेला दुवै अध्यक्षलाई मध्यस्तता गर्ने काम भने उपाध्यक्ष बामदेव गौतमले गरेका थिए।

प्रचण्डले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिनका लागि प्रधानमन्त्रीसँग नम्र अनुरोध गरेको उच्च स्रोतले जनाएको छ। प्रचण्डको आग्रहलाई मान्नका लागि गौतमले पनि भनेका थिए। तर प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति गरिसकेका कारण फिर्ता हुने बताए। तर त्यसअघि स्थायी समितिको बैठकमा प्रतिवेदनका रुपमा दर्ज भएका दुई लिखत फिर्ता लिएर अघि बढ्नका लागि भनेका थिए।

एक घन्टासम्म नेकपाको आन्तरिक विवाद र मतभेदका विषयमा कुराकानी भएको थियो भने आधा घन्टा हाँसिमजाकका कुरा र खाना खाने कार्यक्रम तय थियो। प्रचण्डले प्रधानमन्त्री ओलीलाई खुमलटारमा बिहानको खाना खुवाएर पठाएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओली डेढ घन्टा मात्र बसे पनि उपाध्यक्ष गौतम भने केहीबेर पार्टीकै विवाद मिलाउने विषयमा प्रचण्डसँग छलफलमा बसेका थिए। गौतम निस्कनासाथ बरिष्ठ नेता माधवकुमार नेपाल खुमलटार पुगेका थिए।

प्रतिक्रिया