

प्रधानमन्त्री ओलीलाई प्रचण्डनिवास जान प्रेरित गर्ने ‘नायक’ को हुन्?

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद चर्किरहेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न शनिबार खुमलटार छिरेका छन्।
सम्भवतः प्रधानमन्त्री ओली पहिलो पटक प्रचण्डनिवासमा भेटका लागि छिरेका हुन्। दुई अध्यक्षबीचको प्राय भेट बालुवाटारमा हुने गरेको थियो र प्रचण्ड त्यहिँ पुग्ने गर्दथे।
शनिबार यो चमत्कार कसरी भयो? उच्च स्रोतहरूका अनुसार नेकपाभित्रको विवाद मिलाउनका लागि दुई अध्यक्षको संवाद अनिवार्य गर्नुपर्ने तथा प्रचण्डको पनि प्रतिष्ठा कायम राख्नुपर्ने लविङमा उत्रिए उपाध्यक्ष बामदेव गौतम। ओलीलाई खुमलटार गएर संवाद गर्नका लागि प्रेरित गर्ने व्यक्ति गौतम नै रहेको स्रोतको दाबी छ।

शुक्रबार पेरिसडाँडामा भएको प्रचण्ड–नेपाल समूहको भेला भनिएको कार्यक्रममा गौतम गएनन्। उनी सचिवालयभन्दा अन्यत्र हुने कुनै भेला र सभामा एकपक्षीय ढंगले उपस्थित नहुने घोषणा गर्ने नेता हुन्। जो तटस्थ जस्तो देखिएका छन्, अहिले।
सचिवालयमा उनीसहितको गणकका आधारमा प्रचण्ड समूह बहुमतमा रहेको भनिएको थियो। तर शुक्रबारदेखि उनको तटस्थ भूमिकाले नेकपा विवादमा अर्को मोड ल्याइदियो। त्यहाँमाथि ओलीलाई खुमलटार जानका लागि प्रेरित गरिदिए।
नेकपाको अघिल्लो पल्टको विवादमा पनि गौतमका ६ बुँदे प्रस्तावले काम गरेको थियो। सोही बेला प्रधानमन्त्री ओली गौतम निवास भैंसेपाटीमा डिनरका लागि पुगेका थिए, परिवारसहित। ‘नेकपा अहिले विभाजनमा जानु हुँदैन भन्ने सोचले नै गौतमले भूमिका निर्वाह गर्नुभएको छ, उहाँको यो कदमले पार्टी विभाजनबाट रोकिनेछ’, उच्च स्रोतले भन्यो।
बामदेव गौतमसहित नेकपा अध्यक्षद्वयको भेटको तस्बिर पछि अपडेट गरिएको हो– सम्पादक

