संक्रमित ‘करोड क्लब’मा भारत पनि, अमेरिकामा १ करोडबढी कोरोनामुक्त


काठमाडौं – नेपालको छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या साढे १ करोड नाघेको छ । यससँगै विश्वमा कोरोना संक्रमितको संख्या १ करोड बढी हुने दुई देश पुगेका छन् । हालसम्म विश्वमा सबैभन्दा धेरै संक्रमित अमेरिकामा रहेका छन् ।

अमेरिकामा हालसम्म संक्रमितको संख्या १ करोड ७८ लाख ८५ हजार १३ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख २० हजार ८ सय १४ पुगेको छ । अमेरिकामा कोरोनामुक्त हुनेको दर भारतको तुलनामा कम रहेको देखिएको छ । अमेरिकामा हालसम्म संक्रमण मुक्त हुनेको संख्या १ करोड ३ लाख ७८ हजार ६ सय ६६ पुगेको छ ।

त्यस्तै पछिल्ला समयमा संक्रमितको दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २६ हजार ९९१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ४ हजार ८२५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९५ लाख ४९ हजार ९२३ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४५ हजार १७१ नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ३४२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार १७१  पुगेको हो ।

प्रतिक्रिया