बालुवाटारमा सत्ता गठबन्धन राजनीतिक समन्वय समितिको बैठक जारी


काठमाडौं –  सत्ता गठबन्धनद्वारा गठित राजनीतिक समन्वय समितिको बैठक जारी छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ।

कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार भएको भेटवार्तापछि आजका लागि राजनीतिक समन्वय समितिको बैठक तय भएको थियो।

बैठकमा माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको रणनीति, स्थानीय तहको निर्वाचन मिति घोषणा, कोरोना नियन्त्रणलगायत समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ। आजको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल भने सहभागी छैनन्। उनले महासचिव बेदुराम भुसाल र उपमहासचिव डाक्टर गंगालाल तुलाधरलाई पठाएका छन्।

सरकार सञ्चालनमा सहयोगका लागि कांग्रेसका वरिष्ठ नेता पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सदस्य छन्।

त्यस्तै राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल पनि समितिमा सदस्य छन्।

प्रतिक्रिया