

मन्त्री यादवद्वयको जनकपुरमै गरियो पुत्लादहन !

जनकपुर – भौतिक पुर्वाधार तथा यातायातमन्त्री रेणु यादव र कृषिमन्त्री महेन्द्र राय यादवविरूद्ध धनुषाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ ।
जनमत पार्टीका कार्यकर्ताको अगुवाईमा किसानहरुले ११ बुँदे माग पूरा गर्न माग गर्दै मन्त्रीद्वयविरुद्ध प्रदर्शन, पुत्लादहन र कालोझन्डासमेत देखाएको हो ।
जनकपुरका जनकपुरधाम बजार, लक्ष्मिनिया बजार, तुल्सियाही, देवपुरा लगायतका स्थानमा बिहानैदेखि मन्त्रीद्वयविरूद्ध नाराबाजी गर्दै सडकमा टायर बालेर प्रदर्शन र उनीहरुको पुतलासमेत दहन गरिएको हो ।
जिल्लाको मुखियापट्टी मुसहरनियाको बैरियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएकी मन्त्री यादवलाई जनमत पार्टी नेता कार्यकर्ताहरूले विरोध प्रदर्शन गर्दै कालो झण्डा समेत देखाएका हुन् ।
किसानका माग पूरा गर्न सरकारले चासो नदेखाएको भन्दै संघीय सरकारका मन्त्रीहरुलाई मधेशमा प्रवेश गर्न नदिने पुर्व घोषणा अनुसार जनमत पार्टीले विरोध प्रदर्शन गरेको हो ।

