

कोरोना खोप लगाउन मान्दैनन् चेपाङ

चितवन – कोरोनाको तेस्रो लहर सुरु हुँदासमेत अल्पसंख्यक समुदायका रुपमा रहेको चेपाङ समुदाय खोप लगाउन मान्दैनन्। चेपाङ समुदायले खासै कोभिड खोपमा चासो नदिने गरेको पाइएको छ। चिनवनका सात स्थानीय तहमध्ये ६ स्थानीय तहमा चेपाङ समुदायको बसोबास छ।
इच्छाकामना गाउँपालिका तथा कालिका, राप्ती, खैरहनी, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चेपाङको बसोबास रहेको छ। यी स्थानीय तहमा २०६८ सालको जनगणनाअनुसार २८ हजार ९८९ चेपाङको बसोबास रहेको छ। त्यसमध्ये अहिलेसम्म ६ हजार ३२७ अर्थात् २१ दशमलव ८२ प्रतिशत चेपाङले कोरोनाविरुद्धको खोप लगाएका छन्। राप्ती नगरपालिकामा दुई हजार ७०० चेपाङले खोप लगाएका छन्।
राप्ती नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेका अनुसार वडा नम्बर १०, ११, १२ र १३ मा चेपाङ समुदायको बाहुल्यता छ। ती वडामा ९० प्रतिशत चेपाङ समुदायको बसोबास रहेको र ती वडामा १८ वर्षमाथिका मात्र आठ हजारले खोप लगाउनुपर्ने हो। चेपाङ समुहदायमा सानो उमेरमा नै विवाह गर्ने परिपाटिका कारण खोप लगाउनेको संख्या कम भएको हुनसक्ने उनको भनाइ छ। १८ वर्षमुनिका किशोरकिशोरीलाई खोप लगाउँदा कस्तो परिणाम आउँछ त्यसमा भर पर्ने उनले बताए। उनले भने, ‘यस समुदायमा सानो उमेरमा नै विवाह गर्ने प्रचलन छ, १८ वर्षमुनिकालाई खोप लगाउने क्रममा कस्तो सहभागिता रहन्छ हेरौँ।’
कालिका नगरपालिकामा तीन हजार ८९ चेपाङ समुदायले खोप लगाएका छन्। वडा नम्बर ९, १० र ११ मा चेपाङ समुदायको बसोबास छ। यहाँ पहाडी क्षेत्र र खोप केन्द्रभन्दा टाढा बसोबास भएका केन्द्रसम्म आउनसमेत नखोजेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीले जानकारी दिए। उनका अनुसार स्थानीय तहमा रहेका चेपाङ समुदायले खोप किन आवश्यक पर्छ भन्नेजस्ता कुराहरु गर्ने गरेका छन्। उनले भने
‚ ‘पहाडी क्षेत्रमा बसोबास गर्नेले कहीँ जानु छैन भन्दै खोप लगाउन नमान्ने गरेका छन्।’
यस्तै इच्छाकामना गाउँपालिकाको सबैजसो वडामा चेपाङ समुदायको बसोबास रहेको छ। विशेष गरी वडा नम्बर १, २ र ६ मा चेपाङ समुदायको बसोबास छ। ती बसोबास रहेको क्षेत्रबाट दुई हजार ३५० ले कोरोनाको खोप लगाएका छन्। यस स्थानीय तहमा १८ हजारभन्दा बढीले खोप लगाएको स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाले जानकारी दिए। सापकोटाका अनुसार उमेरअनुसार खोप लगाउने क्रममा अब सो संख्या बढ्ने छ। चेपाङ समुदायको बस्ती विकटमा हुने र त्यस क्षेत्रबाट खोप केन्द्रसम्म आउनसमेत नखोज्ने गरेका कारण संख्या कम भएको हो।
यस्तै‚ खैरहनी नगरपालिकामा ३५० ले कोरोनाविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीका अनुसार यस नगरपालिकामा रहेका ८५ प्रतिशतले खोप लगाएकामा सो संख्यामा चेपाङ समुदाय रहेको बताए। यस पालिकामा खासै नगन्य संख्यामा मात्रै यस समुदायका बासिन्दाको बसोबास रहेको उनले बताए।
भरतपुर महानगरपालिकाको वडा नम्बर २९ मा बसोबास गर्ने ती समुदायका व्यक्तिमध्ये १७४ ले कोरोनाविरुद्धको खोप लगाएका छन्। सो वडामा रहेका रातोमाटे, चिप्लेटी र किपट क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदाय खोपमा सहभागी हुन नसकेको महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ। टोलटोलमा शिविर सञ्चालन गर्दासमेत उनीहरु सहभागी नभएको सकेको कार्यालयले जनाएको छ। महाशाखा प्रमुख दीपक सुवेदीका अनुसार महानगर क्षेत्रमा चेपाङको संख्या ठूलो छैन। उनीहरुको बसोबास रहेको वडा नम्बर २९ को पहाडी क्षेत्र हो।
माडी नगरपालिका वडा नम्बर ८ र ९ मा चेपाङ समुदायको बसोबास रहेको छ। नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख भोजराज खनालका अनुसार माडीमा १३० चेपाङ समुदायका व्यक्तिले खोप लगाएका छन्। छरिएर रहेको यस समुदायमा सूचनाको अभाव वा बेवास्ता गरेका कारण खोप लगाउन आउनेको संख्या कम भएको हो। उनले भने, ‘चेपाङको बसोबास बढी संख्यामा बाँदरझुला क्षेत्रमा रहेको र आउ जाउमा कठिनाइ भएका कारण यस खोपबाट वञ्चित भएका हुन सक्छन्।’
चेपाङ संघका पूर्वकेन्द्रीय अध्यक्ष गोविन्द चेपाङ कोभिड खोपमा यस समुदायको सहभागिता न्यून रहेको बताउँछन्। उनले भने, ‘कोभिडको विषयमा गलत प्रचार भएकाले थोरैले मात्रै खोप लगाएका छन्।’ कोरोना खोप लगाएपछि प्रजननमा समस्या हुने डर चेपाङमा देखिएको उनले बताए। कोरोना खोपका लागि चेपाङ भाषामा नै लेखिएको सन्देश प्रचारप्रसार गर्न जरुरी रहेको गोविन्दको भनाइ छ।
२०६८ सालको जनगणनाअनुसार नेपालमा ६८ हजार ३९९ चेपाङको बसोबास रहेको छ। विशेष गरी चितवन, मकवानपुर, धादिङ, गोरखा, लमजुङ, तनहुँलगायत जिल्लामा चेपाङ बसोबास गर्दै आएका छन्।
चेपाङ संघ चितवनका अध्यक्ष भीमबहादुर चेपाङले डाँडाकाँडामा बसोबास गर्ने भएकाले खोप लगाउन आउने अवस्था नभएको बताए। खोप केन्द्र आसपास बसोबास गर्नेहरुले मात्रै खोप लगाएको जनाउँदै उनले कोरोना खोपका बारेमा सूचना सम्प्रेषण प्रभावकारी बनाउन सरोकारवालालाई आग्रह गरिएको बताए।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले चेपाङ समुदायमा कोरोनाको विषयमा विभिन्न किसिमका नकारात्मक हल्ला चलाइएका कारण समस्या रहेको बताए। यो समुदाय बजारको जनजीवनसँग प्रत्यक्षरुपमा सम्पर्कमा नआउने भएकाले पनि संख्यामा कमी आएको हुनसक्ने उनको अनुमान छ। स्वास्थ्य कार्यालयले खोपको व्यवस्थापन मात्रै गर्ने भएकाले स्थानीय तहले प्रचारप्रसारमा जोड दिनु आवश्यक रहेको उनको भनाइ छ।
कार्यालयका अनुसार चितवनमा हालसम्म तीन लाख ७० हजार ५४४ ले खोप लगाएका छन्। पहिलो मात्रा लगाएकामध्ये तीन लाख २० हजार नौले पूर्ण मात्रामा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ। तिवारीका अनुसार पहिलो मात्रा कोभिसिल्ड ४० हजार ४४३ ले, भेरोसेल दुई लाख ३७ हजार ६०२ ले, एष्ट्राजेनिका ५१ हजार ९६२ ले, फाइजर बायोएनटेक एक हजार ८६७ ले र जोन्सन ३८ हजार ६७० ले लगाएका छन्।
यसैगरी पूर्ण मात्रा खोप कोभिसिल्ड/एष्ट्राजेनिका ८२ हजार ८५३ ले, भेरोसेल एक लाख ९६ हजार ७२९ ले, जोन्सन ३८ हजार ६७० जले र फाइजर बायोएनटेक एक हजार ७५७ ले लगाएका छन्। पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा लगाउने समय भइनसकेको संख्या २० हजार हाराहारी रहेको छ।

