

राष्ट्रिय सभा निर्वाचन : प्रदेश २ मा एमाले र राप्रपाबीच होला त सहकार्य ?

मोरङ — राष्ट्रिय सभा सदस्यका उम्मेदवार नतिजा आफ्नो पक्षमा पार्न प्रचारमा जुटेका छन् । प्रदेश १ बाहेक अन्य प्रदेशमा कमजोर भएपछि एमालेका उम्मेदवार अन्य दलका मतदाता रिझाउन लागिपरेका हुन् । प्रदेश १ मा अन्यत्रको भन्दा एमालेको पकड देखिए पनि तीन वटै सिटमा जित हासिल गर्न राप्रपा र अन्य दलको कम्तीमा एक जना प्रदेशसभा सदस्यको मत आवश्यक हुन्छ ।
राष्ट्रिय सभाका १९ सदस्यको फागुन २१ मा पदावधि सकिँदै छ । १९ पदका लागि माघ १२ मा निर्वाचन हुँदै छ । प्रदेश १ को तीन सिट पनि एमालेबाट खोस्न गठबन्धन लागिपरेको छ भने एमाले गठबन्धनका केही सांसद र स्थानीय तहका पदाधिकारी आफ्नो पक्षमा पार्न लागिपरेको छ । प्रदेश १ मा एमालेका अगमप्रसाद बान्तवा राई, नैनकला ओझा र परशुराम मेघी गुरुङको पदावधि सकिँदै छ ।
राष्ट्रिय सभा सदस्य जित्नका लागि प्रदेश १ मा एमाले र राप्रपाबीच सहकार्यको प्रयास भइरहेको छ । एमाले र राप्रपाबीच सहकार्य हुँदा पनि तीन वटै पद जित्ने सम्भावना छैन । सत्तारूढ गठबन्धन, एमाले र राप्रपाले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।
सत्तारूढ गठबन्धनबाट जनता समाजवादीले अल्पसंख्यक/अपांगमा भोजपुरका हेमराज राई थुलुङ, अन्यतर्फ कांग्रेसले झापाका गोपाल बस्नेत र महिलातर्फ एकीकृत समाजवादीले भोजपुरकी जयन्ती राईको उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट अन्यमा मोरङका गुरु बराल, महिलामा झापाकी सुमित्रा भण्डारी र अल्पसंख्यक/अपांगमा सोलुखुम्बुका सोनाम ग्याल्जेन शेर्पाले मनोनयन दर्ता गरेका छन् । राप्रपाका रञ्जु प्याकुरेलले महिलामा र अमरबहादुर विष्टले अन्य सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्रकुमार लिङ्देनले राष्ट्रिय सभा सदस्य निर्वाचनमा सहकार्यका लागि एमालेसँग छलफल भइरहेको बताए । ‘राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमालेसँग सहकार्यका लागि भइरहेको अनौपचारिक छलफलले मूर्त रूप लिइसकेको छैन,’ उनले भने, ‘मूर्त रूप लिएपछि मात्रै केही भन्न सकिन्छ ।’

