

एमाले अछाम: चुनावी मैदानमा दुईवटा समूह, मतगणना हुँदै

सदरमुकाम मंगलसैनस्थित जिल्ला समन्वय समितिको हलमा मतगणना भइरहेको निर्वाचन अधिकृत खडक खड्काले जानकारी दिए । उनका अनुसार पदाधिकारीको नतिजा आजै साँझसम्म सार्वजनिक भइसक्नेछ । सदस्यहरूको गणना राति अबेरसम्म सक्ने उनले बताए ।
अधिवेशनमा सात सय ६२ प्रतिनिधिमध्ये सात सय ४९ जनाले मतदान गरेका थिए । अछामको एमाले नेतृत्वका लागि दुईवटा समूह चुनावी मैदानमा छन् । पार्टी अध्यक्ष केपी ओली समूहबाट चन्द्र बोहरा र नेता भीम रावल समूहबाट प्रकाश शाह प्यानलसहित प्रतिस्पर्धामा छन् ।
बोहरा प्यानलबाट उपाध्यक्षमा भीम विष्ट, सचिवमा आदर्श साउद उम्मेदवार छन् भने शाह प्यानलबाट उपाध्यक्षमा बलबहादुर कुँवर र सचिवमा भीम रावल (कालो टोपी) मैदानमा छन् । उपसचिवमा शाहको प्यानलबाट प्रेम महर र प्रेम खत्री उम्मेदवार बनेका छन् ।
बोहरा प्यानलमा सहमति नहुँदा चारजना उम्मेदवार बनेका छन् । उपसचिवमा उम्मेदवार बनेका नवराज साउद, टोपबहादुर शाही, शेरबहादुर बुढा र लिलाराज केसी बोहरा निकट मानिन्छन् ।

