नेकपा एमाले महोत्तरीमा भाँडभैलो


 महाेत्तरी – नेकपा एमाले महोत्तरीको जिल्ला आयोजक कमिटी सदस्य टुङ्ग्याउन आज बसेको बैठकमा एउटा समूहले सपथग्रहण गराएको छ भने अर्को समूह बाहिरिएको छ । जिल्लामा एमालेका चारजना केन्द्रीय सदस्य मध्य बुधिनिदेवी र रामदयाल मण्डल समूहले २ सय जनाको जिल्ला आयोजक कमिटी निर्वाचित गरि सपथ ग्रहण गराएका छन् । तर केन्द्रीय सदस्य सरोज यादव र टेकबहादुर बलाम्पाकी भने आयोजक कमिटीको नाम सूचीमा आफूखुसी हेरफेर गरेको भन्दै हलबाट बाहिरिएका छन् ।

‘पाटीको विधि र बिधानअनुसार सबैजना प्रक्रियामा चल्नुपर्छ अन्यथा त्यो वैधानिक हुँदैन’ केन्द्रीय सदस्य सरोज यादवले भने । यता रामदयाल मण्डल समूहले भने आयोजक कमिटी पाटीको विधि र वैधानिक प्रक्रियालाई आत्मासात गरि निर्वाचित गरिएको दाबी गरेको छ ।

बहुमतबाट नै बैठकमा पेश गरिएको नामावली पारित भएको भन्दै केन्द्रीय सदस्य बुधिनीदेवीले सपथ खाएको २ सय जना नै जिल्ला अधिवेशनको लागी आयोजक कमिटी बनेको जानकारी दिइन् । उनले सह इन्चार्ज समेत रहेका सरोज यादवले हलमा सदस्यता नै नभएका व्यक्तिहरु ल्याएर होहल्ला गर्न लगाएको आरोप लगाइन् ।  पाटीभित्र रगत पसिना बगाएका संगठित सदस्यलाई मात्र स्थान दिनुपर्ने जिकिर गर्दै केन्द्रीय सदस्य बुधिनिदेवीले भनिन्, ‘सहइन्चार्जले चाहँदैमा केही हुँदैन हामीले गहन  छलफलपछि नै नाम पारित गरेका हौं ।’

केन्द्रीय सदस्य टेकबहादुर बलाम्पाकीले पनि पोलिटब्युरो सदस्य रामदयाल मण्डल र बुधिनिदेवीले छलफलबिना आयोजक कमिटी बनाएको आरोप लगाए । आयोजक कमिटीमा समावेश गरेका नामहरूप्रति असन्तुष्ट जनाउँदै बलाम्पाकी पनि सरोज यादवसँगै हलबाट बाहिरिएका थिए ।

प्रतिक्रिया