राजतन्त्रको अन्त्य हुँदैमा नारायणहिटी संग्रहालयको सम्पत्ति नासिन हुदैंन : मन्त्री आले


काठमाडौं – पर्यटन, संस्कृति तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले राजतन्त्रको अन्त्य हुँदैमा नारायणहिटी संग्रहालयको सम्पत्ति कतैबाट पनि नासिन नहुने बताएका छन् ।

होटल व्यवसायी महासंघ नेपालको नवौं वार्षिक साधारणसभाको शनिबार भैरहवामा उद्घाटन गर्दै मन्त्री आलेले नारायणहिटी संग्रहालयमा रहेका अमूल्य सम्पदा र सम्पत्ति कौडीको भाउमा बेचिन लागेको बताउदै राजतन्त्रको अन्त्य हुँदैमा संग्रहालयको सम्पत्ति कतैबाट पनि नासिन नहुने बताए ।

पशुपती क्षेत्र विकास कोषअर्न्तगत भारतीय सहयोगमा निर्मित तिर्थालुलाई निर्माण गरिएको धर्मशाला (होटल) पनि कौडीको भाउमा अरुलाई लिजमा दिने काम भएकाले आफूले छानबिन थालेको उनले बताए । सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरेको भनाइ उनको थियो ।

४० करोड रुपैयाँ लगानीमा निर्मित उक्त धर्मशाला भारतीय तीर्थालुलक्षित रहेको मन्त्री आलेले बताए । ‘१९ रोपनी जमिनमा ३ सय ९७ बेडको ८८ वटा कोठा रहेको ३ तले धर्मशाला पनि कौडीको भाउमा दिने काम भयो’, आलेले भने, ‘जम्मा मासिक साढे ८ लाख भाडा पाउने गरी दिन थालिएकोले छानबिन अघि बढाएको हुँ’, उनले भने ।

उनले लुम्बिनी क्षेत्रमा पनि लुम्बिनी विकास कोषको अधिनमा रहेको जमिनमा निर्मित होटल यसरी नै सस्तो मूल्यमा लिजमा दिइएको बताए । कोरोनाका कारण लामो समयसम्म थलिएको होटल तथा पर्यटन व्यवसाय प्रवर्द्धनका लागि व्यवसायीसँग नै सहकार्य र छलफल गरेर अगाडि बढ्न आफू तयार रहेको उनको भनाइ थियो ।

 

प्रतिक्रिया