केएमसी र आन्दोलनरत विद्यार्थीबीच तीन बुँदे सहमति


भक्तपुर – काठमाडौं मेडिकल कलेज (केएमसी) दुवाकोटमा अध्ययनरत चिकित्साशास्त्र स्नातक तहका आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनबीच सहमति भएको छ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अगुवाइमा कलेज प्रशासन, विद्यार्थी र अभिभावकका प्रतिनिधिबीच जिल्ला प्रशासन कार्यालय भक्तपुरमा शुक्रवार तीन बुँदे सहमति भएको हो। उनीहरूबीच यथाशिघ्र विवाद समाधान गरी पठनपाठन सञ्चालन गर्न सहमति भएको हो।

प्रजिअ शर्माका अनुसार छलफलमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा २ ९थ० मा उल्लेखित शिक्षण शुल्क र चिकित्सा शिक्षा आयोगको मिति २०७८ पुस ५ गतेको सूचनाका सम्बन्धमा थप प्रष्ट हुन सम्बन्धित निकायमा थप छलफल गरी यथाशीघ्र कक्षा सञ्चालन गर्न कलेज प्रशासन, विद्यार्थी र अभिभावक सहमत भएका छन्।

त्यसैगरी मेडिकल कलेजको छात्रावासको विषयमा मेडिकल कलेज र विद्यार्थीबीच समझदारी गरी कार्यान्वयन गर्ने, कलेजको चालु शैक्षिक सत्रमा अध्यापन गराउनुपर्ने धेरै विद्यार्थी आन्दोलनमा रहेको अवस्थामा सबै विद्यार्थीलाई भर्ना गरी पठनपाठन गराउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिने र सोही अनुसार कार्यान्वयन गर्ने सहमति भएको प्रजिअ शर्माले बताइन्।

प्रतिक्रिया