नेपाल एयरलाइन्सलाई हङकङले फेरि प्रतिबन्ध लगायाे


काठमाडाैँ –  नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई काठमाडौं–हङकङ उडान भर्न त्यहाँको सरकारले फेरि प्रतिबन्ध लगाएको छ । जनवरी ४ तारिख (मंगलबार) निगमको न्यारोबडी जहाज (उडान नम्बर ४०९) चढेर हङकङ पुगेका पाँच यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि हङकङले निगमलाई उडान भर्न प्रतिबन्ध लगाएको हो ।

निगमले सूचना नै जारी गरेर हङकङले उडानमा प्रतिबन्ध लगाएको जानकारी दिएको छ । निगमका सहप्रवक्ता ज्ञान अर्यालले दुई सातासम्मका लागि निगमले हङकङ उडान भर्न नपाउने स्थिति निम्तिएको रातोपाटीलाई जानकारी दिए । अर्यालले भने, ‘हामीले हङकङ उडानमा तारन्तार समस्या भोगिरहेका छौं । निर्धारित उडानसमेत गर्दा यो पटक प्रतिबन्धको असर २१ दिनसम्म पर्ने भएको छ ।’

हङकङले कुनै उडानबाट त्यहाँ पुगेकामध्ये दुई जनासम्मलाई कोरोना संक्रमण देखिए प्रतिबन्ध लगाउँदैन । तर, जनवरी ४ तारिखमा निगमको जहाजबाट गएका पाँचमा एकैपटक संक्रमण देखिएपछि पुनः दुई साता लामो प्रतिबन्ध लागेको हो । जनवरी १९ सम्म निगमको जहाजले हङकङ उडान गर्न पाउने छैन भने निर्धारित उडानका कारण त्यसपछि पनि एक सातासम्म उडान नहुने निगम सहप्रवक्ता अर्यालले बताए ।  यसअघि पनि हङकङले निगमको जहाज उडानमा पटकपटक प्रतिबन्ध लगाएको थियो । नेपालबाट संक्रमणमुक्त रहेको प्रमाणपत्र लिएर गएका यात्रुहरूको स्वाब परीक्षण गर्दा हङकङमा संक्रमित पुष्टि हुने घटना दोहोरिँदै आएको छ ।

प्रतिक्रिया