माओवादी केन्द्रका नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज, आज स्वदेश फर्किँदै


काठमाडाैं – चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । जण्डिसका कारण लामो समयदेखि थाइल्यान्ड र चीनमा उपचार गराइरहेका पुन आज डिस्चार्ज भएका हुन् ।

अस्पतालबाट डिस्चार्ज भएका उनी आज नेपाल आउन लागेका अनेरास्ववियु क्रान्तिकारीका नेता दिपेश पुनले बताएका छन् । दिपेशले सामाजिक सञ्जालमार्फत नेता वर्षमान पुन डिस्चार्ज भएर नेपाल आउन लागेको जानकारी गराएका हुन् । जण्डिसका कारण पुनलाई उपचारका लागि थाइल्यान्ड लगिएको थियो । तर, सुधार नभएपछि फेरि चीन लगिएको हो । उनी तीन महिना भन्दा लामो उपचार पछि स्वदेश फर्किन लागेका हुन् ।

पुन माओवादी केन्द्रको एक महासचिवको दाबेदार हुन् । हिजो पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनकै आग्रहमा पदाधिकारीको चयन प्रक्रियालाई पछाडि सारेको बताएका थिए । पदाधिकारीमा सबैभन्दा बढी प्रतिस्पर्धा महासचिवमा देखिएको छ । अहिलेका अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुसाल पनि महासचिवको आकाङ्क्षी हुन् ।

प्रतिक्रिया