श्रीमतीलाई सस्तोमा माछा नदिएको रिसमा सिडिओले लगाए व्यवसायीको फ्रिजमा ताला !


चितवन — माछा व्यवसायीले माछाको मुल्य बढी लिएको भन्दै चितवनको एक माछा पसलको फ्रिज सिल गरी व्यापारीलाई धम्काएको आरोप चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङमाथि लागेको छ । भरतपुर एयरपोर्ट छेउमा रहेको माछा पसलमा हिजो (आइतबार) साँझ ५ बजेतिर सिडियोसहितको टोली पुगेर ‘चितवन फिस हाउस’ को फ्रिज बन्द गर्दै संचालक लुलाराज तामाङलाई धम्की दिँदैँ साँचो लगेको व्यवसायीहरुले बताएका छन् ।

आफ्नी श्रीमतीसँग माछा प्रतिकेजी ३०० रुपैयाँ लिएको भन्दै सिडियोले पसलमै पुगी चितवन फिस हाउसका संचालक तथा जिल्ला उपाध्यक्ष लुलाराज तामाङलाई धम्काएर फ्रिज बन्द गरेर साँचो लिएर हिडेको प्रत्यक्षदर्शी एवं मत्स्य ब्यवसायी संघका महासचिव जोगेन्द्र महतोले बताए ।

सिडियोले ज्यादती गरेको भन्दै ब्यवसायीहरुले प्रशासन कार्यालयमा धर्ना समेत दिएका छन् । श्रीमतीलाई सस्तोमा माछा नदिएको निहुँमा सिडियो आएर ब्यवसायीलाई धम्काउने, थकाउर्ने काम गरेपछि सिडियोको ज्यादतीविरुद्ध आन्दोलित बनेको मत्स्य ब्यवसायी संघले जनाएको छ ।

केन्द्रीय अध्यक्ष अम्बिका अधिकारीको नेतृत्वमा जनप्रतिनिधिसहित प्रशासन कार्यालय पुगेर उनीहरुले सिडियोको ज्यादती बन्द हुनुपर्ने माग सहायक प्रजिअ समक्ष गरेका थिए । कार्यालयमा जिल्ला अध्यक्षलाई ‘मैले गल्ती गरेको हुँ भनेर’ जर्बजस्ती हस्ताक्षर गराउन खोजेपछि आफुहरु हस्ताक्षर नगरि हिँडेको ब्यवसायीहरु बताउँछन् । भर्खरै माछा लिएर पसलमा आएर ग्राहकको माछा तयार पारिरहेका बेला सिडियो आएर सुन्नै नसकिने खालको अपशब्द प्रयोग गरी फ्रिज सिल गरेर साँचो लिएर गएको पीडित ब्यवसायी तामाङले बताए ।

‘आफुहरुले बजार मुल्य ३८० मा बिक्री गर्ने माछा प्रतिकेजी ३०० रुपैयामा उहाँलाई दिँदापनि अझ सस्तो खोजेर ब्यवसायीलाई आतंकित पार्ने काम गर्नुभएको छ’, मत्स्य व्यवसायी संघका केन्द्रीय अध्यक्ष अम्बिका अधिकारीले भने,‘ सिडियोको यस हर्कत सह्य नहुने र आफुहरु यसविरुद्ध देशब्यापी आन्दोलन गर्नेछौं ।’  उपभोक्तालाई स्वस्थ्कर माछा खुवाउनु पर्छ भनेर भारतीय माछाविरुद्ध लडेर नेपालमा जिउँदो माछा बिक्री गर्ने पद्धतिको सुरुवात गरेको आफुहरुमाथी सिडियोले गरेको यो कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने अधिकारीको भनाई छ ।

आइतबार साँझ लक गरेको फ्रिज सोमबार दिउँसो खोलेर त्यहाँ भएको केही माछा ल्याब परिक्षणको लागी प्रशासनले लगेको छ । यो बिषयमा बुझ्दा प्रमुख जिल्ला अधिकारी तामाङले आफुले सिल नगरेको  र ब्यवसायीलाई खरिद तथा बिक्री बिल ल्याउन भनेको बताए । ‘म्याडम’ लाई सस्तोमा माछा नदिएको झोकमा फ्रिज सिल गर्नु भएको हो भनेर प्रश्न गर्दा उनले आफु माछा किनेर खाने मान्छे भएको र अरुकुरा आफुलाई थाहा नभएको उनले जवाफ दिए ।

घटना के थियो ?

भरतपुर महानगर २६ दिव्यनगरमा हिजो दिउँसो ३ बजे तिर ना. १ झ ४९९ नम्बरको सिडियोको साईरनयुक्त सरकारी गाडी लिएर ५ किलो माछा खरिदका लागि प्रमुख जिल्ला अधिकारी तामाङका श्रीमती जिल्ला अध्यक्ष खगेन्द्र सुवेदीको माछा फर्ममा पुगेकी थिईन् । त्यहाँ माछा झिकेर आफ्नो साधनमा माछा लोड गर्दै थिए चितवन फिस हाउसका सञ्चालक एवं जिल्ला उपाध्यक्ष लुलाराज तामाङ ।

आफुसँग सिडियोको परिवारले ५ किलो माछा माग गरेपछि ५ किलो माछा झिक्न अफ्ठयारो हुने भएकाले बताएपनि जिल्ला उपाध्यक्ष समेत रहेका चितवन फिस हाउसका सञ्चालक तामाङले आफनो भागको माछाबाट ५ केजी माछा जोखेर सिडियोको सवारी चालकलाई दिएर प्रतिकेजी माछाको ३ सय रुपैयाका दरमा पैसा लिएका थिए ।

No description available.

त्यही माछा खरिदमा प्रतिकेजी ३०० रुपैया लिएको रिसमा सिडियोले साँझ ५ बजे तामाङको भरतपुर बिमानस्थल छेउमा रहेको चितवन फिस हाउसमा पुगि ‘तैंले फर्मालिन हालेको माछा बेच्ने ?’ भनेर धम्काएर फ्रिज सिल गरेर हिडेको अधिकारीले बताए । त्यहाँ सिडियोले सुन्नै नसक्ने खालका अपशब्द समेत बोलेको प्रत्यक्षदर्शी केन्द्रिय महासचिव खगेन्द्र महतोले सुनाए ।  ‘त्यो भन्दा अगाडी पनि आफ्नो फार्म हाउसमा सिडियो सरको म्याडम माछा खरिदका लागी पुग्नु भएको र मैले त्यो पटक सिडियो सरलाईनै हो भनेर प्रतिकेजी २ सय ५० मा दिएको थिएँ’ जिल्ला अध्यक्ष सुबेदीले बताए । ‘यो पटक ३०० रुपैया लिएपछि ५० रुपैयाको निहुँमा उहाँबाट यो किसिमको काम भएको हो’, उनले भने ।

५ किलो माछा खरिदका लागी सरकारी सवारीको दुरुपयोग गरेर व्यवसायीलाई आतंकित पार्ने काम सिडियोबाट भएको भन्दै ब्यवसायी आक्रोशित बनेका छन् । सिडियोको यो कार्यको व्यवसायीहरुले बिज्ञप्ती समेत निकालेर भर्त्सनासमेत गरेका छन् ।

प्रतिक्रिया