

तरुण दलले भन्यो– राष्ट्रपतिलाई महाअभियोग, प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्तावबाट हटाउन माग गरेको छ।
अध्यक्ष जीतजंग बस्नेतले बुधबार वक्तव्य जारी गर्दै यस्तो माग गरेका हुन्। संवैधानिक परिषदसम्बन्धी अध्यादेश अलोकतान्त्रिक र संविधानको भावनाविपरीत आएको जनाउँदै यस्तो प्रस्ताव गरेको हो।
‘सम्माननीय राष्ट्रपति ज्युको भूमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिन आएको छ’, उनले भनेका छन्,‘राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गर्दछ ।’
तरुण दलले संवैधानिक परिषदसम्बन्धी अध्यादेश तुरुन्त फिर्ता लिन र जारी अध्यादेशमा टेकेर तत्काल कुनै पनि निर्णय नगर्नसमेत अनुरोध गरेको छ ।

