
रामचन्द्र पौडेल कांग्रेसको केन्द्रीय सदस्य बनेपछि गुरुराज घिमिरे तीन छक !
काठमाडाैँ – पार्टीको १४औं महाधिवेशनमा पदको चुनावी प्रतिस्पर्धाबाटै अलग भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापति शेरबहादुर देउवाले मनोनयनमार्फत केन्द्रीय सदस्य बनाएपछि पौडेल समूहकै नेताले प्रश्न उठाएका छन्।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले शनिबार १० नेतालाई कांग्रेसको केन्द्रीय कार्यसमितिको केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन्। यसमा वरिष्ठ नेता पौडेल पनि परेका हुन्, जो इतर समूहबाट सभापति साझा उम्मेदवार बन्न नसकेपछि अन्तिम समयमा पदीय प्रतिस्पर्धाबाटै बाहिरिएका थिए।
यसै सन्दर्भमा इतर समूहकै नेता गुरुराज घिमिरेले वरिष्ठ नेता पौडेलको नैतिकता र निष्ठाप्रति प्रश्न उठाएका हुन्। साथै उनले साझा सभापति बन्छु भनेर घोषणा गरेका देउवाको छनोटप्रति पनि प्रश्न उठाएका छन्।
‘हाम्रा श्रद्धेय नेता रामचन्द्र पौडेल नेकाको चौधौं महाधिवेशनको नेतृत्व छनोट प्रक्रियाबाटअलग रहने निर्णय गर्नुभो। आज (शनिबार) केस (केन्द्रीय सदस्य) को मनोनयनमा पर्नुभो’, नेता घिमिरेले प्रश्न गरेका छन्, ‘प्रक्रियाबाटैअलग्गिएको व्यक्ति मनोनीत कसरी हुनुभो? राजनीतिमा नैतिकताको प्रश्न उठाउने उहाँ नै हैन? अनि साझा सभापति हुन्छु भन्ने नेताको चयन यही हो?’
इतर समूहबाट प्रकाशमान सिंहले आफूलाई सभापतिको उम्मेदवार बन्न समर्थन नगरेपछि विरक्तिएर चुनावी प्रतिस्पर्धाबाट अलग भएका वरिष्ठ नेता पौडेलले आफू तटस्थ रहने पनि बताएका थिए। उनी मतदानमा समेत सहभागी भएनन्। तर पौडेलले मौन रहेर देउवालाई नै सघाएको संस्थापन इतर समूहका नेताहरूको आशंका छ। सभापति पदको पहिलो चुनाव हुनु अघिल्लो दिन देउवा उनलाई भेट्न पौडेल निवसा नै पुगेका थिए।



कागजपत्र |
