कोरोना महामारीमा अंग्रेजी नयाँ वर्ष : आन्तरिक पर्यटककै भरमा होटल व्यवसाय


काठमाडौँ– अंग्रेजी नयाँ वर्ष २०२२ को स्वागतका लागि यतिबेला काठमाडौँलगायतका शहरहरु सजिएका छन्। होटल तथा रेष्टुरेन्टहरुमा मानिसहरुको चहलपहल बढेको देख्न सकिन्छ। काठमाडौँको ठमेल, दरबारमार्ग लगायतका स्थानहरु झकिझकाउ भएका छन्।

होटल तथा रेष्टुरेन्टहरुमा नयाँ वर्षलक्षित विभिन्न सांगीतिक कार्यक्रमहरुको आयोजना गरिएको छ।  मूलतः विदेशीका लागि महत्व राख्ने यो नयाँ वर्षको उमंगले नेपाल र नेपालीलाई समेत अछुतो राखेको छैन।

वर्षभरीका पीडा भुल्दै नयाँ वर्ष मनाउन होटल तथा रेष्टुरा पुग्नु संस्कृतिजस्तै बन्न थालेको छ। कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको लकडाउन सहज भएपछिको यो पहिलो अंग्रेजी नयाँ वर्ष हो। कोरोना संक्रमणकै कारण विदेशी पर्यटकहरुको उपस्थिति न्यून भएपनि आन्तरिक पर्यटकहरुले नै होटल तथा रेष्टुरेन्ट भरिने गरेका छन्।

सरकारले २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरेपनि कोरोनाका कारण सफल हुन नसकेको सम्झिँदै काठमाडौँको ठमेलमा मण्डप होटल स‌‌ञ्चालन गर्दै आएका रमेश थापा विदेशी पर्यटकहरु नआएकाले होटल व्यवसायमा प्रत्यक्ष असर परेको बताउँछन्।

‘कोरोनाका कारण विदेशी पर्यटकहरु आउन पाएका छैनन्। अंग्रेजी नयाँ वर्षमा पनि नेपालीहरुले नै होटल भरिएका छन्,’ उनी भन्छन्। कोरोनाको समयलाई फर्केर हेर्दा गएको दुई वर्ष मारमै बितेको होटल व्यवसायीहरु बताउँछन्।

थापाले भने, ‘मुस्किलले लकडाउनको सामना गरेर होटल व्यवसायहरु सामान्यतर्फ फर्किँदै थियो। पछिल्लो समय फेरि नयाँ भेरियन्ट आएको भन्ने हल्ला छ। जसले गर्दा होटल व्यवसाय पुनः मारमा पर्ने अवस्था देखिएको छ।’

कोरोना माहामारीका कारण लामो समयसम्म ठप्प रहेको होटल व्यवसाय केही सामान्यतर्फ फर्किएर अंग्रेजी नयाँ वर्षको तयारी गरिरहेको अवस्था छ। यद्यपि पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणले होटल व्यवसायमा पुनः असर पार्ने अवस्था सिर्जना भएको होटल व्यवसायीहरु बताउँछन्।

गत वर्ष कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण नयाँ वर्षमा खासै उमंग देखिएको थिएन। यद्यपि यस वर्ष ओमिक्रोनको संक्रमण बढिरहे पनि स्वस्थ्य अवस्थालाई ध्यानमा राखेर नयाँ वर्षको तयारी गरिएको छ।

अंग्रेजी नयाँ वर्षका दिनलाई नेपालीहरुले भने टोपी दिवसका रुपमा समेत मनाउने गरेका छन्। नेपाली पोशाकको मान र शानलाई झल्काउने उदेश्यका साथ २०१४ जनवरी १ बाट हरेक वर्ष टोपी दिवस मनाउन थालिएको हो।

प्रतिक्रिया