माओवादीको पदाधिकारीमा प्रचण्डले टीका लगाउलान कि, निर्वाचन होला ?


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा जारी महाधिवेशनबाटै पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित गर्नुपर्ने दबाब बढेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल तत्काल पदाधिकारी चयन नगरी केन्द्रीय समिति मात्रै घोषणा गर्ने मनस्थितिमा रहेको बताइएको बेला जारी बन्दसत्रमा यस्तो आवाज उठेको हो ।

माओवादी केन्द्रमा अध्यक्ष र उपाध्यक्ष चयनमा खासै विवाद नभए पनि महासचिवलाई लिएर चर्काे विवाद छ । अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा हाल स्थायी समितिमा रहेका वरिष्ठ नेताहरूलाई समेटिने विषयमा खासै विवाद नरहे पनि महासचिवमा जनार्दन शर्मा, वर्षमान पुन र पम्फा भुषालले दाबी नछाडेपछि निर्वाचनको आवाज पल्लाभारी भएको हो । यी तीनमध्ये शर्मा र पुन बलियो देखिए पनि अध्यक्ष दाहालले कसलाई सिफारिस गर्छन्, यकिन छैन ।

माओवादी केन्द्रका नेता श्रीराम ढकालले अध्यक्ष दाहालले पेस गरेको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले पेस गरेको विधान संशोधन प्रस्तावमा विभिन्न २५ समूहमा समूहगत छलफल गरेर बिहीबार प्रस्तुति सकिएको र शुक्रबार अध्यक्ष दाहालले बन्दसत्रमा उठेका जिज्ञासाको जवाफ दिएपछि निर्वाचन प्रक्रिया अघि बढ्ने बताए । उनले अध्यक्ष दाहालले जवाफ दिइसकेपछि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने पनि बताए ।

अब माओवादी केन्द्रले १५ सदस्यीय पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउनेछ । जसमा अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्षसहितको पदाधिकारी हुनेछ ।

बन्दसत्रमा समूह १३ का टोली नेता गोपाल शर्माले महाधिवेशन हलबाटै पदाधिकारीसहित केन्द्रीय समितिका सदस्यहरू निर्वाचित हुनुपर्ने सुझाव पेस गरेका छन् ।

‘हालै सम्पन्न विभिन्न जनवर्गीय संगठनहरूमा नेतृत्व र पदाधिकारीविहीन बनाएर राजनीतिमा राम्रो सन्देश गएको छैन,’ शर्माले भने, ‘महाधिवेशनमा पनि यो स्थिति पैदा हुनुहुँदैन । माथिल्लो तहका कमजोरीले तल्लो तहमा देखिएको उत्साहसमेत कमजोर बनाइएको छ । महाधिवेशनबाटै पदाधिकारी चयन गरिनुपर्छ ।’

प्रतिक्रिया