आठ बर्षसम्म बनेन कान्द्रा नदीको पुल, चैतसम्म नबने ठेकेदारलाई कालोसूचीमा राख्ने


धनगढी – कैलालीको हुलाकी सडक खण्डअन्तर्गत भजनी नगरपालिकास्थित कान्द्रा नदीको पुल निर्माण आठ बर्षसम्म पूरा हुन सकेको छैन ।

ठेकेदारको लापर्वाहीका कारण पुल बन्न नसकेको हुलाकी सडक आयोजनाले जनाएको छ । ‘४ बर्षमा निर्माण गरिसक्ने पर्ने पुल आठ बर्षसम्म पूरा हुन सकेको छैन,’ हुलाकी सडक आयोजना धनगढीका इन्जिनियर पदम मडैले भने, ‘यसमा ठेकदारको लापर्वाही छ ।’

उनका अनुसार पुलको एउटा पिल्लरको डिजाईन परिवर्तन गरिनु पर्ने भएपछि सडक आयोजनालेनै एक वर्ष म्याद थप गरेको थियो । तर, सो समयमा ठेकेदार कम्पनीले पुल निर्माण सम्पन्न गर्न सकेन । त्यस पछि दुई पटक म्याद थप गर्दासमेत पुल निर्माण हुन नसकेपछि सडक निर्माणमा बाधा पुगेको छ ।

०७१ सालमा हुलाली सडक आयोजना र लामा, साल्पा छर्पा कन्ट्रक्सने जेभिबीच चार बर्षमा पुल निर्माण गरीसक्ने गरी सम्झौता भएको थियो । चार करोड ४२ लाखमा ठेक्का पाएका भएको पुल असार ०७५ सम्म निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता भएको थियो ।

तोकिएको मितिमा पुल नबनेपछि अन्तिम पटकका लागि चैत ०७८ सम्मका लागि पुल निर्माण म्याद थप गरेको छ । सो समयमा पुल निर्माण नभए ठेक्का सम्झौता तोडिने र ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न प्रक्रिया अगाडि बढाइने इन्जिनियर मडै बताउँछन् ।

‘ठेकदार कम्पनीले चैतसम्म पुल निर्माण गरी सक्ने प्रतिबद्धता जनाएको छ,’ इन्जिनियर मडैले भने, ‘यदि चैतसम्म पुल बनेन भने ठेक्का सम्झौता तोडेर ठेकदारलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइनेछ ।’

प्रतिक्रिया