बन्दसत्र अघि प्रचण्डको निर्देशनः मेरो ‘कटआउट’ तत्काल हटाउनुस्


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनस्थलमा आफ्नो ‘कटआउट’ राखिएको थाहा पाएपछि हटाउन निर्देशन दिएका छन् ।

प्रचण्डको निर्देशनपछि उनको ‘कटआउट’ स्वयंसेवकहरुले हटाएका छन् । पार्टीको ८ औं महाधिवेशन स्थलमा फोटो खिच्नको लागि बनाएको उनको ठुला-ठुला पोस्टर र कटआउट देखेपछि प्रचण्डले तत्काल हटाउन निर्देशन दिएका थिए ।

‘यसरी व्यक्तिलाई केन्द्रित गराएर राखिएको कटआउट कम्युनिस्ट पार्टीको नीति र संस्कृतिविरुद्ध हुन्छ, हामी नीतिमा बहस गर्छौ, महाधिवेशनलाई व्यक्तिकेन्द्रित बनाउनुहुन्न, त्यसलाई हटाइहाल्नुस’ अध्यक्ष प्रचण्डले व्यवस्थापन टिमलाई दिएको निर्देशन उदृत गर्दै एक स्वयंसेवकले भने, ‘अध्यक्षज्यूको निर्देशनपछि हामीले हटाइसकेका छौँ ।’

यस विषयमा वाइसीएल नेपालका नेताहरुसँग बुझ्दा वाइसिएलको तर्फबाट कटआउट नराखिएको दावी गरे । ती नेताले भने, ‘हाम्रो तर्फबाट होइन, विद्यार्थीका कमरेडहरुले राख्नुभएको हो भन्ने कुरा आएको छ ।’

यसअघि एमाले महाधिवेशनमा एमाले अध्यक्ष खड्ग प्रसाद ओलीको कटआउट राखिएको थियो ।

प्रतिक्रिया