

भारतमा संक्रमित संख्या ९९ लाख नाघ्यो, १ लाख ४३ हजार भन्दा बढीको मृत्यु

काठमाडौं – नेपालको छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ९९ लाख नाघेको छ । पछिल्ला दिनमा नयाँ संक्रमित संख्यामा केही कमी देखिएको भारतमा पछिल्लो २४ घन्टामा २१ हजार ७ सय ९१ जना देखिएसँगै हालसम्म संक्रमितको संख्या ९९ लाख ६ हजार ५ सय ७ पुगेको छ ।
विश्वकै दोस्रो स्थानमा रहेको भारत एशियामा सबैभन्दा धेरै संक्रमित र मृत्यु भएको देश हो । भारतमा पछिल्लो २४ घन्टामा ३ सय ५३ जना संक्रमितको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ४३ हजार ७ सय ४६ पुगेकोछ ।
त्यस्तै भारतमा हालसम्म ९४ हजार २१ हजार ८ सय ३२ जना संक्रमित कोरोनामुक्त भइसकेका छन् । त्यस्तै ३ लाख ४० हजार ९ सय २९ जना मात्र सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घन्टामा ५ लाख ७१ हजार ६ सय ५५ थपिएसँगै हालसम्म विश्वभर संक्रमित संख्या ७ करोड ३१ लाख ७० हजार १२ जना पुगेका छन् भने १६ लाख २७ हजार २ सय ५२ जनाको मृत्यु भइसकेको छ । विशवभर हालसम्म निको हुनेको संख्या ५ करोड १२ लाख ९० हजार ३ सय ६९ पुगेको छ ।

