

काँग्रेसमा थप १८ केन्द्रीय सदस्यको मतगणना सकियो

पछिल्लोपटक मधेसी खुला, मधेसी महिला, मुस्लिम खुला, मुस्लिम महिला तथा प्रदेश १ र वाग्मतीमा खुला र महिलाबाट केन्द्रीय सदस्यको टुंगो लागेको हो ।
काँग्रेसको केन्द्रीय सदस्यमा मधेसी महिलातर्फ मुक्ताकुमारी यादव, मीनाक्षी झा, मञ्जुकुमारी यादव र नागिना यादव निर्वाचित भएका छन् । मुक्ताकुमारी यादवले ३ हजार ९ सय ६०, मीनाक्षीले ३ हजार १२, मञ्जुकुमारीले २ हजार ८ सय ८६ र नागिनाले २ हजार ८ सय ४८ मत पाएका थिए । त्यही पदकी प्रत्याशी किरण यादव २ हजार ७ सय २२ मत मात्रै पाएर पराजित भइन् । उनी यसअघि नै केन्द्रीय सदस्य थिइन् ।
मधेसी खुलातर्फ अजयकुमार चौरसिया २ हजार ५ सय २२, विनोदकुमार चौधरी २ हजार २ सय ६, चन्द्रमोहन यादव २ हजार १ सय ३८, महेन्द्रकुमार राय १ हजार ९ सय ८४ र दिनेशकुमार यादव १ हजार ९ सय ५९ मतसहित विजयी भए ।
त्यस्तै, मुस्लिमतर्फ अब्दुल रज्जाक, अब्दुल सतार र जावेदा खातुन निर्वाचित भएका छन् । खुलातर्फ रज्जाक र सतार तथा महिलातर्फ खातुन निर्वाचित भएका हुन् । रज्जाकले २ हजार ३ सय ९० मत पाएका थिए भने सतारको २ हजार २ सय २८ मत छ । महिलातर्फ जावेदाले १ हजार ९ सय मत पाइन् ।
यस्तै, वाग्मती प्रदेशबाट राजेन्द्रकुमार केसी, ध्यानगोविन्द रञ्जित र उर्मिला नेपाल केसी निर्वाचित भएका छन् । प्रदेशको खुलातर्फ केसी र रञ्जित विजयी भएका हुन् ।
केसीले २ हजार १ सय २९, रञ्जितले २ हजार ४ सय १९ मत पाएका छन् । त्यस्तै, महिलातर्फ उर्मिला नेपाल केसी २ हजार ३ सय ४९ मतसहित विजयी भएकी छन् । प्रतिनिधिसभा सदस्य केसी नेता शेखर कोइरालानिकट हुन् भने रञ्जित र नेपाल सभापति देउवा समूहका उम्मेदवार हुन् ।
प्रदेश १ बाट अमृत अर्याल, राजीव कोइराला र महेन्द्रकुमारी लिम्बू केन्द्रीय सदस्य बनेका छन् । खुलातर्फ अर्याल २ हजार ३ सय ८९ मत र कोइराला २ हजार १ सय ५२ सहित विजयी भएका हुन् ।
लिम्बू महिलातर्फ निर्वाचित भएकी हुन् । उनले २ हजार २ सय २९ मत ल्याएकी छन् । अर्याल र लिम्बू देउवा समूहका नेता हुन् भने कोइराला संस्थापनइतर समूहका नेता हुन् ।

