

देशभर कांग्रेसको शक्ति प्रदर्शन, काठमाडौंमा पौडेलको सम्बोधन

काठमाडौं– सरकारविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले देशका धेरै ठाउँमा शक्ति प्रदर्शन गरेको छ।
विरोध प्रदर्शनका लागि काँग्रेस कार्यकर्ताले देशैभर जुलुस निकालेको हो। सरकार भ्रष्टाचार, कूशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै काँग्रेसले जुलुस निकालेको हो।
बरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रशासनले धरपकड गरेपछि कांग्रेसले शक्ति प्रदर्शनको पूर्वघोषणा गरेको थियो।
सभापति शेरबहादुर देउवा मकवानपुर, वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौंको शान्तिबाटिकामा सम्बोधन गर्दै छन् ।
उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री डा. शशांक कोइराला मोरङ, सहमहामन्त्री डा. प्रकाशशरण महत झापा, सहमहामन्त्री सुनिलबहादुर थापा धनकुटामा छन्।
महामन्त्री पूर्णबहादुर खड्का भने केन्द्रीय कार्यालय सानेपामा बसेर देशभरका कार्यक्रमको जानकारी लिने र समन्वय गर्ने भूमिकामा रहेको कांग्रेसले जनाएको छ।
गोपालमान श्रेष्ठ काभ्रेपलाञ्चोक, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषा, पूर्व सहमहामन्त्री अजुर्ननरसिंह केसी कास्की, केन्द्रीय सदस्य डा.रामशरण महत चितवन, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव सप्तरी, युवा नेता गगन थापा कैलालीमा सम्बोधन गरिरहेका छन्।
सरकार गठन यता सदन र सडकमा कांग्रेसको शक्ति नदेखिएको र कमजोर बनेको आरोप लागेको थियो। पदाधिकारीको बैठकले शक्ति प्रदर्शनका निम्ति निर्णय गरेको थियो।

