देउवाको जयबहादुर प्रेमः आईजी बनाउन खोज्दा चुनावमा पराजित, आयुक्त बनाए जनाधार सक्किने चेतावनी
काठमाडौं– प्रहरीका पूर्व अतिरिक्त महानिरिक्षक (एआईजी) जयबहादुर चन्दलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तका लागि सिफारिसको तयारी गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आलोचना भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राख्ने संवैधानिक परिषदको बैठकमा देउवाले अख्तियार आयुक्तका लागि चन्दको नाम सिफारिसको तयारी गरेका छन्। नेपाली कांग्रेसका तर्फबाट कसको नाम पठाउने भन्ने आन्तरिक तयारी र छलफलका क्रममा देउवाले चन्दको विकल्प नभएको बताउँदै आएका छन्।
तर कतिपय नेताहरूले चन्दलाई चुनावअघि नेपाल प्रहरीको महानिरिक्षक (आईजी) बनाउन खोज्दा त्यसले ल्याएको तरङ्ग र त्यसपछि पार्टीले आम चुनावमा व्यहोरेको हार सम्झिनका लागि देउवालाई सुझाव दिएका छन्। बुढानिलकण्ठमा देउवालाई भेटेका एक जना केन्द्रीय सदस्य भन्छन्,‘त्यसबेला कांग्रेसको हारको कारण विवादमा रहेका चन्दलाई आईजीका लागि जबरजस्ती निर्णय गराउनु थियो। जसका कारण कांग्रेस र सर्वोच्च अदालतको जुहारी जस्तो भएको थियो। अब अख्तियार आयुक्तका लागि बोके हालत के होला?’
आईजी नियुक्तिको निर्णयका बेला नै चन्दले सभापति देउवालाई ठूलो आर्थिक सहयोग गरेको बजार हल्ला छ। ३० करोडसम्मको आर्थिक सहयोग चन्दले विभिन्न लागुऔषधका अवैध धन्दा गर्ने र सुन तस्करी गर्नेसम्मको लगानीका आधारमा बुझाएको बताइन्छ। तर यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।
‘संवैधानिक परिषदको सदस्यको नाताले प्रतिपक्षी दलको नेताले सिफारिस गर्न पाउँछ। त्यो सन्तुलनका लागि हो। तर कांग्रेसका तर्फबाट चन्द भन्दा अर्को मान्छे छैन भन्ने होइन नि, अरु पनि छन्। यहि सुझाव दिइएको छ’, ति केन्द्रीय सदस्य भन्छन्,‘हामीले प्रचण्डकी छोरीलाई चुनाव जिताउने र जयबहादुर चन्दलाई आईजी बनाउने प्रकरणको थप्पड जनताले दिइसकेका छन्। अब आयुक्त बनाउनुपर्छ भनियो भने देउवालाई होइन, उनले नेतृत्व गरेको पार्टीलाई धक्का पर्छ।’
यता चन्दका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सकारात्मक छैनन्। उनले विवादीत व्यक्तिलाई अख्तियार जस्तो ठाउँमा आयुक्तमा सिफारिस गर्न कठिन हुने भन्दै देउवालाई अर्को उम्मेदवारको नाम सिफारिसका लागि सुझाव दिएका थिए।
उच्च स्रोतका अनुसार ‘यी मान्छे आईजी नियुक्तिका बेला नै विवादमा आएका हुन् सिफारिस गर्दा सरकारको बदनामी त हुने नै भयो, कांग्रेसको पनि बदनामी हुन्छ। विकल्पको नाम लिएर आउनुहोस्’ भनी प्रधानमन्त्री ओलीले भन्नुभएको थियो।
धेरै जसो संवैधानिक निकायमा पद रिक्त रहेका कारण नियुक्तिका लागि परिषदले सिफारिस गर्ने तयारी गरेको छ। आइतबारका लागि देउवाले नै स्थगित गर्न अनुरोध गरेको बैठक मंगलबार बस्ने तय भएको थियो। तर, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालले भने अहिले परिषदको बैठक राख्न नहुने भन्दै आएका छन्। प्रचण्डको दबाबका कारण नै आइतबारका लागि डाकिएको बैठकमा सभामुख अग्नी सापकोटाले उपस्थित हुन नसक्ने सन्देश पठाएका थिए। मंगलबारको बैठकमा प्रतिपक्षी दलका नेता देउवाको उपस्थिति भए बहुमतका आधारमा नै सिफारिस गर्ने तयारीमा प्रधानमन्त्री ओली रहेका छन्।