आज कांग्रेसको देशव्यापी प्रदर्शन, कुन सहरमा कांग्रेसका कुन नेताले सम्बोधन गर्दैछन् त ?


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज सोमबार सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्दैछ । गत मंसिर १७ गते तनहुँमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुमाथि भएको दुव्र्यवहार, भ्रष्टाचार र कोभिड—१९ को नियन्त्रण र उपचारमा सरकार लापरबाहीको विरोधमा आज काँग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो ।

काँग्रेस सभापति शेरबहादुर देउवाले देशभर हुने विरोध प्रदर्शन सरकारको गलत प्रवृति रोक्न महत्वपूर्ण हुने भन्दै पार्टीका सम्पूर्ण सदस्य, समर्थक र शुभचिन्तकसँगै सबै लोकतन्त्र पक्षधरलाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन् ।

सभापति देउवाले आइतबार एक अपिल जारी गर्दै कोरोना महामारीका समयमा हुन लागेको प्रदर्शनमा भौतिक दूरी राख्न र मास्क प्रयोग गर्न÷गराउन स्वयमसेवामा खटिने युवाहरुलाई आग्रह गरेका छन् ।

लामो संघर्षबाट स्थापित संघीय, लोकतान्त्रिक गणतन्त्रमार्फत सार्थक परिणामको अपेक्षा राख्नु जनताको स्वाभाविक हक हो भन्दै सभापति देउवाले सरकारलाई तीव्र दबाब दिन काँग्रेसले सडकदेखि संसद्सम्म आन्दोलन गर्ने र सोमबारको प्रदर्शन त्यसैको सांकेतिक सुरुवात भएको उल्लेख गरेका छन् ।

यसैगरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकार जनताका आधारभूत अधिकारबाट समेत विमुख भएको आरोप लगाउँदै अब सदन र सडकबाट सरकारविरुद्धमा आन्दोलन सुरु भएको बताए । शर्माले ७७ वटै जिल्लामा आन्दोलनको तयारी पूरा भएकोसमेत बताएका छन् ।

प्रवक्ता शर्माले पार्टी सभापति देउवाले सार्वजनिक अपिल र आफूले केही दिनअघि भिडियो सन्देश जारी गर्दै सरकारको गलत प्रवृतिकाविरुद्ध कांग्रेससँगै सडकमा आउन सबैलाई अनुरोध गरिसकेको भन्दै हजारौं जनताको सहभागितामा प्रदर्शन हुने बताए ।

देशका प्रमुख सहरमा शीर्ष नेताको सम्बोधन
पूर्व निर्धारित कार्यक्रमअनुसार देशका ७७ वटै जिल्लामा विरोधसभा हुँदैछ । मुख्यमुख्य सहरमा आयोजना हुने कार्यक्रममा पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने नेपाली कांग्रेस सूचना सञ्चार तथा प्रचार विभागका केन्द्रीय सदस्य टेकराज अवस्थीले जानकारी दिएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौडामा सम्बोधन गर्ने र प्रदर्शनको तयारी पूरा भएको नेपाली कांग्रेस मकवानपुरले जनाएको छ ।

यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंको रत्नपार्क शान्ति बाटिकामा हुने सभालाई सम्बोधन गर्ने नेपाली कांग्रेस काठमाडौंका सभापति कृष्ण (सबुज) बानियाँले जानकारी दिए । बाँनियाले बिरोध प्रदर्शनको लागि राजधानीका पाँच स्थानबाट निकालिने जुलुस दिउँसो १ बजे शान्ति बाटिका, रत्नपार्कमा भेला हुने कार्यक्रम तय भएको बताएका छन् । भेलामा हजारौको सहभागीता हुनेगरी व्यवस्थापन तयारी गरिएको बानियाँको भनाई छ ।

त्यस्तै, प्रदेश नम्बर १ स्थित मोरङको विराटनगरमा आयोजना हुने विरोध सभालाई महामन्त्रि डा. शशांक कोइरालाले सम्बोधन गर्ने कांग्रेसका जिल्ला सभापति डिकबहादुर लिम्बुले बताएका छन् । लिम्बुकानुसार आज बिहान १२ बजेदेखि सुरु हुने प्रदर्शन महेन्द्र्र चोकमा सभामा परिणत भई समापन हुनेछ ।

नेपाली कांग्रेसको आधार इलाका मानिएको तराई—मधेश क्षेत्रमा पनि आन्दोलनको तयारी सकिएको छ । हाल प्रदेश प्रदेश नम्बर २ को राजधानी रहेको धनुषाको जनकपुरधाममा कम्तिमा २५ हजारको सहभागितामा कार्यक्रम गर्ने तयारी भएको धनुषाका जिल्ला सभापति महेशसंकर गिरीले बताए । गिरीले जिल्लाका सबै स्थानीय तहबाट हजारौंका सहभागिता हुने गरी व्यवस्थान गरिसकेको र विरोध सभालाई नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सम्बोधन गर्ने जानकारी दिए ।

उता गण्डकी प्रदेशको राजधानी कास्कीको पोखरामा पनि दशौं हजारको सहभागितामा विरोधसभा हुँने कास्कीका सभापति कृष्ण केसीले जानकारी दिएका छन् । केसीले सभालाई काग्रेसका पूर्वमहामन्त्री अर्जुनरसिंह केसीले सम्बोधन गर्ने बताए ।

प्रदेश नम्बर ५ को प्रमुख व्यापारिक केन्द्र बाँकेको नेपालगञ्जमा पनि तयारी अन्तिम चरणमा पुगेको जिल्ला सभापती किरण कोइरालाले बताएकी छन् । कोइरालाकानुसार विरोधसभालाई स्थानीय नेताहरुले नै सम्बोधन गर्ने छन् ।
सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा पनि विरोधसभाको तयारी पुरा भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेश र नेतृ आर्जु देउवा राणाको चुनावी क्षेत्रसमेत रहेको धनगढीमा हजारौंको सहभागिता प्रदर्शन हुने कांग्रेस कैलालीका सभापति नरनाराण शाह मनुले जनाएका छन् । विरोधसभालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रखरवक्ता गगन थापाले प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने छन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगरमा पनि तयारी पुरा भएको नेपाली कांग्रेस सुर्खेतका सभापति कमल रेग्मीले जानकारी दिए । सहभागीको व्यवस्थापनका लागि स्वयम्सेवक परिचालनदेखि सम्पूर्ण काम पुरा भएको र विरोधसभालाई स्थानीय नेताहरुले नै सम्बोधन गर्ने रेग्मीले बताए ।

प्रतिक्रिया