हृदयविदारक केन्या, जहाँ पानीको अभावमा ६ जिराफ एकै ठाउँ मरे…


केन्या – अफ्रिकी मुलुक केन्यामा भयंकर सुख्खा अवस्था देखिएको छ । केन्यामा पछिल्लो समय देखिएको सुख्खा अवस्थाका कारण कैयौं वन्यजन्तुहरु पानीको अभावमा मरेको हृदयविदारक तस्बिरहरु सार्वजनिक भएको छ ।

केन्याको सुख्खा मौसमका कारण मरेका जिराफहरुको हृदयविदारक तस्बिरहरु इन्टरनेटमा देखिन थालेपछि बाहिर दुनियाँलाई केन्याले चरम सुख्खाको अवस्था भोग्नुपरेको तथ्य बाहिरिएको हो ।

पानी र खानाको अभावमा जंगलमै कयौं जंगली जनावरसँगै जिराफहरु मरेको भेटिएको छ । पानीको खोजीमा विभिन्न स्थान चहारीरहेको अवस्थामा पानी नपाएर जिराफहरुको मरेको जनाइएको छ ।

डिसेम्बर १० का दिन केन्याको आईरिब गाउँमा एकै ठाउँ ६ वटा जिराफ मरेका भेटिएको सो गाउँका सहायक प्रमुख अब्दी करीमले जनाए ।

अलजजिराका अनुसार उत्तरी केन्यामा सामान्य भन्दा ३० प्रतिशत कम वर्षा भएको थियो । त्यसकारण केन्याको उत्तरीभेग सुख्खाका कारण समस्या भोगिरहेको छ । त्यहाँ किसानहरुले खेती गर्न पाएका छैनन् भने वन्यजन्तुहरु पनि खाना र पानीको अभावले मरिरहेका छन् ।

एक रिपोर्ट अनुसार सुख्खा यामका कारण खाना र पानीको अभावमा चार हजार भन्दा बढी जिराफहरु मर्ने अनुमान गरिएको छ । केन्यामा अहिले सुख्खा मौसमका कारण मानिसहरुले पनि खाद्यान्न नपाइरहेको अवस्था छ । केन्यामा २१ लाख भन्दा बढी मानिसहरु भोकमरीमा परेका छन् । संयुक्त राष्ट्र संघले केन्याको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै खाद्यान्न पुर्याउन लागिरहेको जनाइएको छ ।

प्रतिक्रिया