रमेश खरेलले घोषणा गरे नयाँ पार्टी, नाम ‘नेपाल सुशासन पार्टी’
काठमाडौं – नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआईजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले नेपाल सुशासन पार्टी घोषणा गरेका हुन्।
देश सुहाउँदो र सुशासनलाई प्रमुख एजेण्डा बनाएर पार्टीलाई अघि बढाउने खरेलको दाबी छ। उनले देशमा अहिले कुशासन व्याप्त रहेको भन्दै त्यसलाई सुशासनमा ल्याउन आफूले बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताए।
‘हामी सबैभन्दा पहिला राष्ट्रियतालाई शीरमा राख्छौँ। हाम्रो देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाएका छौँ। अहिले सबै कुशासनले व्याप्त भएर देशको यो हालत भएको छ। कुशासनले व्याप्त भएर राष्ट्रियतामा चाख नदिएर हाम्रो हालत यो भएको छ।
हामी यसरी नयाँ पार्टीको हिसाबले स्थापित हुन बाध्य भयौँ। देशमा समृद्धि भएको छैन। राजनीति गर्नेहरुलाई म राजनीतिक पेशाकर्मी भन्छु। हामी पनि राजनीतिकर्मी हुन्छौँ। मैले सबै साथीहरुलाई भनेको छु सेवा गर्ने हो मेवा खाने होइन। राजनीतिमा लागेकाहरु पेशाकर्मी भए, मेवा खाए, नागरिकहरुलाई केही वास्ता गरेनन्,’ उनले भने।
उनले सेवा गरेर मेवा खाने नभई सेवा मात्र गर्ने ध्येयले पार्टीमा काम गर्ने बताएका छन्। उनले सबै नागरिकको चासो र आवश्यक्तालाई ध्यानमा राखेर जनतालाई धोका नदिने गरी काम गर्ने प्रतिबद्धता पनि जनाएका छन्।